आफुले चालेका योजना र सपनाहरुमा विफल भइरहदा निराश भएर क्रियाशील बन्न छाडेको भए यतिवेला उद्योगी नविन रिजाल भनेर कसैले चिन्दैन थियो । विराटनगरमा वि.स.२०२६ सालमा विनय रिजाल र पुष्पा रिजालको कान्छाे सुपुत्रकारुपमा जन्मेका उनी सफल उद्योगी हुन् । असफलता नै सफलताको सिँढी हो भनेर निरन्तर लागि रहदा धेरैवटा व्यवसाय अपनाए पछि उनलाई सफलता मिलेको हो । काम गर्दै जादा व्यवसायमा अनैकौ आरोह र अवरोह खेपेका उनी हरेस मानेर उदेश्यमा समर्पित नभएको भए आज यो स्थानमा पुग्नेनै थिएनन् । हाल उनी मोरङ व्यापार संघको अध्यक्ष रहेका छन् । उद्योगी,व्यवसायी र जनसरोकारको क्षेत्रमा अथक मेहनतका साथ काम गरिरहेका क्रान्तिकारी ,जुझारु तथा कहिल्यै नथाक्ने उनै रिजाल संग कौशल निरौलाले गर्नु भएको संवाद :
व्यापार व्यवसायमा तपाई कहिले देखि लाग्नु भयो ?
केही न केही व्यापारका कामहरु पुर्खौलीरुपमा पनि हुदै आएको हो । स-साना व्यवसायहरु बुबाले सञ्चालन गर्नु भएको थियो । म जव बुझ्ने र केही गर्न सक्ने भए । त्यस पछाडि मलाई पनि व्यापार गर्ने सोच आयो । सवै भन्दा पहिले वि.स.२०४८ साल ग्रिज रिप्याकिङ गरेर वेच्ने व्यवसाय सुरु गरेको हु । यसमा खासै सफलता मैलै पाइन । यो नै मेरो व्यवसायको पहिलो अध्याय हो ।
त्यस पछाडि तपाई कसरी अगाडी बढ्नु भयो त ?
ममा उत्साह मरिहालेको थिएन । एउटा काममा असफलता भयो भन्दैमा काम छोड्ने पक्षमा म थिइन । काम गर्दा केही सफलता पाइन्छनै भन्ने सुरमा थिए । लगत्तै मैले वि.स.२०४९ मा रीसाइक्लिंङको काम सुरु गरे । वि.स.२०५० सालमा रिजालको ब्रान्डमा प्लाष्टिक ट्याङको सुरुवात गरे । जुन अहिले पनि रिजालको पोलिट्याङ इन्ड्रष्टिज प्रा.लि को नाम वाट सन्चालित छ । यसलाई मेची देखि महाकाली सम्म पुर्याउन सफल भए । यसको माग बढ्यो ,नेपाली उपभोक्ताले मन पराइदिनु भयो । त्यही बाट रिजालको ब्लो ,पोलिट्याङ,सितल, हिमाल ब्राण्डमा ट्याङ्की , रोडडिभाइडर,डसविनहरु उत्पादन भइरहेका छन्।
थप अन्य के कस्ता उद्योग तथा व्यावसायिक फर्म खोल्नु भयो ?
म त्यतिमा मात्र सीमित रहिन । मैले अन्य व्यवसायमा पनि हात हाले । कतिमा सफलता मिलेका छन् । कतिमा निराशाजनक असफलताहरु पनि हात लागे । वि.स. २०५८ मा रिजालको फउन्ड्री चापाकल र मेसिनहरुको पार्ट बनाउथे । जुन वि.स. २०६३ सालमा मजदुर अभावमा बन्द भयो । तत्कालीन आन्दोलनको असर यसमा पर्र्यो । वि.स. २०५९ मा विदेशबाट आयात गरेर रिजालको ग्यास गिजर, आदीको एसेम्ब्लिङ विजनेस सुरु गरेको थिए । त्याे चलिरहेकाे छ । इनभटर र वाटर पम्प भने नेपाल सरकारले गरेको ट्याक्सका कारण बन्द गरे । । यस्तै वि.स.२०६३ मै काठमान्डांैमा दोस्रो ट्याङ्की फ्याक्ट्रि खोले त्यो चालु अवस्थामा रहेको छ । वि.स.२०६४ मा एग्रिकल्चरको पायप खोले जुन सरकारको ट्याक्स पोलेसीले गर्दा बन्द गर्नुपर्यो । यसलाई वि.स.२०६७ मा बन्द गरे । वि.स.२०६७ मा ग्यास इन्ड्रष्टिमा हात हाले । जुन अहिले रिजालको ग्यास छ । त्यो चालु अवस्थामा छ । वि.स.२०७४ मा रिजालको ब्राण्डबाट सिपीभिसी पायप फिटिङ,पिभिसी पायप फिटिङ ,एजडिपी पायपको फ्याक्ट्री खोले । त्यो चलिरहेको छ । कोभिड आए संगै त्यसको महामारीबाट बचाउने उदेश्यका साथ वि.स.२०७७ मा रिजालको हाइजिन इन्ड्रष्टिजको नाममा मास्क साथै सेनेटाइजर उत्पादन गरिरहेको छु । यस्तै वि.स. २०७९ मा प्लाष्टिकको रिसाइक्लिङ् उद्योग सुरु गरेको छु । यी सवै उद्योगहरु मोरङ सुनसरी करिडोरमा सन्चालनमा रहेका छन् ।
उद्योग ,व्यवसायमा कतै असफलता र कतै सफलता पाउनु भएछ हैन ?
म उद्योग र व्यवसाय गर्नबाट थाकेको भए ,वा असफल हुने वित्तिकै यो व्यवसायमा पुनः नलागेको भए म आज यो ठाउँमानै आइपुग्ने थिइन । मैलै सफलता र असफलता दुवै भोगेको छु । यद्यपी असफलतामा भने सरकारको नीतिगत त्रुटी र ट्याक्स पोलेसी मुख्य मान्छु म । स–साना व्यवसायी त सरकारको ट्याक्स पोलेसीका कारण कहिल्यै उठ्न नसक्ने गरी समाप्त भएको त मैले देखेको छु । म आफै यसको सिकार भएको मानिस हु । सरकारले स–साना व्यवसायीका लागि त सोच्दै सोच्दैननी ।
उद्योग व्यसाय संगै अन्य सामाजिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ ?
म वि.स.२०६६ सालमा लाइन्स क्लव अफ विराटनगरको अध्यक्ष भए । वि.स.२०७५ मा रोटरी क्लव अफ विराटनगरको अध्यक्ष ,वि.स.२०६५मा मोरङ व्यापार संघको सदस्य भए । वि.स.२०७२ मा संघको प्रवक्ता ,वि.स.२०७३ मा महासचिव,वि.स.२०७५ मा वरिष्ठ उपाध्यक्ष र वि.स.२०७८माघ १३ गते यसै संघको अध्यक्ष बनेको हु । म विभिन्न सामाजिक तथा धार्मिक संस्थाहरुमा पनि आवद्ध रहेको छु ।
विराटनगरलाई चिनाउन वा आन्तरिक तथा वाह्रय व्यापार बढाउन तपाइले गरेका मुख्य काम केही छन् ?
म खासै खाली बस्न नरुचाउने मानिस हु । केही न केही गरौ भन्ने भाव मनमा आइरहन्छ । मलाई चिनाउने भन्नुस् वा मेरो नेतृत्वमा धेरै कार्यक्रम भएका छन् । विराट महोत्सव वि.स.२०७० मा अन्तराष्ट्रिय व्यपार मेला ट्रेड एक्स्पो जुन सहिद मैदानमा लगाइएको थियो । ५० फिटको पहाड ,५० फिटको डाइनोसर , जाडोमा हिटर जोडेर कार्यक्रम गरेर यो मेला सम्पन्न गरेका थियौ । विराट गोल्डकप वि.स.२०७४ को आयोजक समितिको संयोजक भएर काम गरे ।बासको फ्रडलाइट लगाएर रातको समयमा खेल कार्यक्रम गरेका थियौ । अहिले फ्रड लाइट त्यसैको उपलब्धी मान्नुस् । वि.स. २०७८ बैशाखमा विराट ट्रेड एक्स्पो लगायौ । जसमा बन्जिजम्प,एसी डोम ,कुलर डोम ,जीपलाइन राखेका थियौ ।
मोरङ व्यापार संघको अध्यक्ष भएपछि तपाइले के–के काम गर्नु भयो र के गर्ने लक्ष्यका साथ अगाडि बढिरहनु भएको छ ?
म २०७८ माघ १३ गते यस मोरङ व्यपार संघको अध्यक्ष भएको हु । म आएको ४ महिना पूरा हुदै छ । यद्यपी यो विचमा दर्जनौ कामहरु मैले गरिसकेको छु । मैले उद्योगी ,व्यवसायीका समस्या संगै उपभोक्ताको माग र अवस्थाका विषयमा काम गरिरहेको छु । म आए संगै उद्योगीको लागि मुख्य समस्याकारुपमा रहेको भारत स्थित मीरगन्ज पुल खुलाउन अधितम पहल गरेको थिए । जोगवनी देखि अररियाको डिएम देखि ,पटनाको रोड मन्त्री नितिन नविन देखि ,दिल्लीको रोडमन्त्री नितिन गडकरी, काठमान्डौं स्थित भारतीय राजदुत र दिल्ली स्थित नेपालका का.वा राजदुत रामप्रसाद सुवेदी सहित नेपालकै प्रभावशाली नेताहरु डा.शेखर कोइराला,डा.मिनेन्द्र रिजाल ,तत्कालिन विदेश मन्त्री डा.नारायण खड्का र भारत र नेपालका प्रधानमन्त्री कार्यालय सम्म पटक भेटघाट तथा पत्राचार गरेर १६ बर्षदेखि रोकिएको मिरगन्ज पुललाई अस्थाइरुपमा चालू गर्न सफल भयौं । स्थाइ रुपमा यही असार महिनादेखी पूर्णरुपमा चालू हुने भारतीय पक्षबाट प्रतिबद्धता आएको छ । औद्योगिक मालवाहक सवारी साधनहरुसंग ट्राफिक र स्थानिय तहले लिइरहेको अव्यवहारिक शुल्क र जरिवाना हटाउन सफल भएका छौ । महंगीको मार,सरकार बनौं जिम्मेवार भन्ने नाराका साथ नेपालको आर्थिक तरलताको अवस्थाका विषयमा राष्ट्र वैंक घेराउ देखि प्रधानमन्त्री र अर्थमन्त्रीलाई ध्यानाकर्षण गराउने काम गरेका छौ । विद्यमान विद्युत समस्या र उद्योगमा भएको विद्युत कटौतीका विषयमा गरेको विरोधका कारण विद्युत आपूर्ति सहज बनाउन सफल भएका छौ । स्थानिय पालिकाका प्रमुखहरु र मन्त्रीहरुलाई उद्योग सरोकारका विषयमा घचघचाएका छौ। यस्तै स्थानिय उत्पादनको वजारीकरणका लागि विराट ट्रेड एक्स्पो २०७८ लगाएका थियौं । बुदागतरुपमा भन्नु पर्दा हामिले दर्जनौ कामहरु गरिरहेका छौ। हाम्रो पदाबधी २ वर्षको हुन्छ । म उद्योगी ,व्यवसायीको सवाल संगै उपभोक्ताको हितमा समेत काम गर्छु र गरेका काम सञ्चारमाध्यम मार्फत बाहिर ल्याउने छु ।
मोरङ व्यापार संघको सांगठनिक संरचनालाई कसरी विस्तार गर्नु भएको छ ?
मोरङ व्यापार संघको जिल्लाभरी ११ वटा शाखा रहेका छन् । १५ हजार सदस्य रहेका छौ । जिल्लामा रहेका उद्योग संगै आम नागरिकको सवाललाई यसले महत्वपूर्ण मार्गनिर्देशन गरिरहेको छ । हाल हामिले यसको नाम परिवर्तन गरेका छौ । मोरङ उद्योग व्यपार संघ यसको नाम हुनेछ । उद्योग तथा व्यवसायीका धेरै नै समस्याहरु छन् ।यस संस्थाले पहिचान गरी राज्यलाई घच-घचाउने छ ।
पहिचान भएका तर समाधान नभएका उद्योगीका समस्या भनिदिनु न ?
पहिलो त स्वदेशी उत्पादनको संरक्षण,प्रवर्धन नहुनुनै हो । जनताको लागि संस्थागत निक्षेप व्याजदर कम गरिदैन । जसले सामानको मूल्य कम पर्न जान्छ । तर सरकार गर्ने पक्षमा छैन । केही १।२ जना सीमित उद्योगपति घरानाहरुले देशकै नीति परिवर्तन गराएर निजी दैनिकरुपमा करौडौको फाइदा उठाइरहेका छन् । यस खाले नीति बनाइदिने र नीति बनाउन लगाउने दुवैको मोरङ व्यापार संघ घोर भत्र्सना गर्दछ । यसरी लाखौ साना व्यवसायी र आम नागरिकको ढाड सेक्नेगरी मूल्यमा शोषण गरिरहेको र व्ययभार थपिएको हुनाले यस्ता नीति तुरुन्तै फिर्ता लिनुपर्ने अन्यथा यो समस्या समाधान नभए सम्म हामी राज्य संग लडिरहन्छौ । बैंकहरु छाडा भएका छन् । जनता संग २ प्रतिशत देखी ७ प्रतिशत डिपोजिटमा व्याज दिने र १४ प्रतिशतमा व्याज लिने काम भइरहेको छ । जुन हिजो सामन्ती भनिन्थ्यो ,सामन्तीहरुले गर्दथे । त्यो अहिले बैंकहरुले गरिरहेका छन् । राज्यले पनि त्यसैको पृष्ठपोषण गरिरहेको छ । यो विडम्वना छ । अन्य धेरै समस्याहरु छन् जुन राज्य सन्चालकहरुले सोचेर निर्णय लिए देश समृद्ध बन्ने थियो ।