झापा ,६ जेठ ।
झापाको दमक नगरपालिकाको मेयरमा रामकुमार थापा निर्वाचित भएका छन् । प्रजातन्त्र स्थापनापछि भएका तीनवटै निर्वाचनमा एमालेले जित्दै आएको दमकमा दलीय गठबन्धनको सहयोगमा राप्रपाका थापा मेयरमा निर्वाचित भएका हुन् ।
थापाले १७५२५ मत प्राप्त गरि ५५९ मतन्तरमा नेकपा एमालेकी उम्मेदवार गीता पौडेल अधिकारीलाई पराजित गरेका हुन् । दमककी निवर्तमान उपमेयर रहेकी अधिकारीले १६९६६ मत प्राप्त गरेकी छन् ।
‘दमकले परिवर्तन खोजेको थियो, त्यो मतपत्र मार्फत व्यक्त भएको छ’ जीतपछि संक्षिप्त प्रतिक्रिया दिँदै थापाले भने ‘जनताले दिएको अभिमतको सम्मान गर्दै सबैप्रति आभार प्रकट गर्दछु ।’ दमकलाई नमूना नगर बनाउने, नागरिकलाई निस्वार्थ सेवा गर्ने सपना र योजना आफूसँग रहेको बताउने थापाले बताए ।
यस्तै उपप्रमुखमा पनि गठबन्धनको तर्फबाट उम्मेद्वार बनेकी नेपाली कांग्रेसकी रेगिना भट्टराई ४९० मतान्तरले विजयी भएकी छिन् । उनले १७०७२ मत ल्याउँदा एमालेका अम्बिका खनालले १६५७४ मत ल्याएका थिए ।