विराटनगर, २२ भदौ ।
इजरायलमा टाउको जोडिएका जुम्ल्याहा दिदीबहिनीको शल्यक्रिया सफल भएको छ । बिरशेबाको अस्पताल सोरोका मेडिकल सेन्टरमा झण्डै १२ घण्टा लगाएर टाउको पछाडिको भाग जोडिएका उनीहरुको दुर्लभ शल्यक्रिया गरी छुट्याइएको बीबीसीले जनाएको छ । टाउको जोडिएका कारण विपरीत दिशामा फर्कनुपर्ने उनीहरुले शल्यक्रियापछि एक अर्कालाई देखेका छन् ।
उनीहरुको शल्यक्रियामा इजरायल तथा अरु देशका विशेषज्ञ डाक्टर सहभागी भएका थिए । विश्वमा कमै मात्रै हुँदै आएको शरीर छुट्टाउने शल्यक्रिया इजरायलमा पहिलो पटक गरिएको हो ।