विराटनगर १६ बैशाख ।
कोरोना संक्रमणको दोस्रो भेरियन्ट नियन्त्रण र नियमनका विषयमा विराटनगर महानगरले थप गृहकार्य शुरु गरेको छ । कोरोना संक्रमणको पहिलो कालखण्डमा प्रभावकारी काम गरेको महानगर दोस्रो भेरियन्टका विषयमा समेत आबश्यक गृहकार्यमा जुटिसकेको जनाएको छ ।
बिहिबार विराटनगर महानगरका मेयर भीम पराजुलीले स्वास्थ्य विज्ञ,मेडिकल कलेजका पदाधिकारी , अस्पताल तथा जिल्ला प्रशासनका प्रमुख संग परामर्श गरेका छन् । उनले नगरको विद्यमान अवस्था र अपनाउनुपर्ने सावधानिका विषयमा जानकारी लिएका छन् भने मातहतका सम्बन्धित कर्मचारीलाई तदारुकताका साथ काम गर्न निर्देशन दिएका छन् ।
स्थानिय क्षेत्राधिकार र कोभिड नियन्त्रणका विषयमा तत्काल थाल्नुपर्ने कामका विषयमा महानगर संवेदनशिल रहेको मेयर भीम पराजुलीलेले बताए । छलफलमा बोल्दै मेयर पराजुलीले महानगर क्षेत्रमा चाहिने अक्सिजन,डाक्टरको प्रबन्ध,परामर्शकर्ता,आयुशुलेसन समेतको व्यवस्थापनमा महानगर अगाडी बढिरहेको बताए ।
कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जिल्ला भित्रको कोरोना सक्रमणको अवस्थालाई मध्यनजर गर्दै आबश्यक गृहकार्य गरिरहेको बताए । लक डाउन गर्ने नगर्ने भन्ने विषयमा विज्ञहरुसंग परामर्श गरिरहेको बताए । लकडाउनले कतिपय अवस्थामा कालोबजारी बढ्ने र विपन्न परिबार थप पिडित बन्न सक्ने तर्फ पनि ध्यान जानुपर्ने बताए । धन ,जनको क्षति रोक्न र आवश्यक प्रबन्धमा जुट्न समेत स्थानिय तह लाग्नुपर्ने सुझाए ।
कार्यक्रममा विराटनगर महानगर उपमेयर इन्दिरा कार्की,प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत,नेपाल चिकित्सक संघका अध्यक्ष डा.फरवार्ड शिलवाल,अफिनका प्रदेश १ अध्यक्ष शंकर प्रसाद अधिकारी, विराटनगर महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की , लाइफ गार्ड अस्पतालका डा.कैलास श्रेष्ठ,न्यूरो अस्पतालका राजेश भट्टराई,डब्लु.एच.ओ का डा.सागर पौडेल लगाएतको उपस्थिति रहेको थियो ।
महानगरमा भएको छलफलमा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा.फरवार्ड शिलवालको संयोजकत्वमा टेलिमेडिसिन सेवा,जनस्वास्थ्य निरिक्षक हैदर अलिको संयोजकत्वमा नगरक्षेत्र भित्रका अस्पतालहरुमा बेडहरुको अवस्थाको सूचना अध्यावधिक र जानकारी दिने,अफिनको नेतृत्वमा अक्सिजन व्यवस्थापन र वितरणको व्यवस्थापन बारे जानकारी दिने र समन्वय गर्ने गरी व्यवस्था मिलाइएको छ । आबश्यकता अनुरुप अन्य स्वास्थ्य व्यवस्थापनमा महानगर लाग्ने विपत व्यवस्थापन समितिका सदस्य राजेन्द्र प्रधानले जानकारी दिए ।