काठमाडौँ, ६ वैशाख । सहीरुपमा प्रविधिको प्रयोग गरेर घरबाटै शिक्षालिन सकिनेमा बिज्ञहरुले जोड दिएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले ‘सूचना प्रविधि, सरकार र योगदान’ विषयक जुम प्रविधिबाट आयोजना गरिएको कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले अनलाइन कक्षा चलाउन प्रमुख शहरमै राम्रो पूर्वाधार विकास भइनसकेको बताएका छन् ।
सूचना प्रविधिमार्फत विकृति फैल्याउनेलाई कसरी रोक्ने भन्ने विषयमा चुनौती देखिएको खनालले बताए । प्रयोगकर्ता आफैँ स्वअनुशासित र स्वनियमन हुनुपर्ने उनले जोड दिए । फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले सूचना प्रविधि क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धान बढाएर आइपरेका समस्या समाधानतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए । शिक्षाकै माध्यमबाट सूचना प्रविधि क्षेत्रमा सुधार ल्याउन सकिने कोइरालाको भनाइ थियो । कोरोनाबाट बच्न सहीरुपमा प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउनु र समय अनुसार परिबर्तन हुन जरुरी रहेको कार्यक्रममा औल्याइयो ।