काठमाडौँ २६ फाल्गुन ।
महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आउने धर्मानुरागीहरुका लागि सहजरुपमा दर्शन गर्ने व्यबस्था मिलाउन आवश्यक प्रबन्ध गरिएको छ । जसका लागि स्वंयसेवक सहित सुरक्षा व्यबस्था मिलाइएको छ । भोली फाल्गुन २७ गते बिहिबार शिवरात्रि मनाइदै छ । विगत वर्षमा जस्तै यसपटक पनि दर्शनका लागि विशेष पासको व्यवस्था गरिएको छैन । दर्शन गर्न चाहनेले लाइनमै बसेर मन्दिर प्रवेश गर्नु पर्नेछ । वृद्धवृद्धाका लागि भने स्वयंसेवकबाट छिटो दर्शन गराउने व्यवस्था मिलाइएको बताइएको छ ।
पशुपतिनाथ मूल मन्दिरका चारै ढोका महाशिवरात्रिका दिन बिहान चार बजेदेखि नै खोलिने छ । बिहान चार बजेदेखि राति दर्शनार्थी नसकिएसम्म पशुपतिनाथका चारै ढोका खुला गरिने कोषले जनाएको छ । कोरोना महामारी कायमै रहेकाले मास्क नलगाउने भक्तजनलाई मूल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको छ । मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न चाहने भक्तजनले अनिवार्य मास्क लगाउनुपर्ने सूचना टास गरिएको छ । यस्तै शिवरात्रिको अवसरमा देशभरका शिवालयहरु सजाउने काम भइरहेका छन् ।
शिवरात्रिको महत्व
महाशिवरात्रि हिन्दुहरूको प्रमुख चाड हो । महाशिवरात्रि भगवान शिव र आद्यशक्तिको आराधना गर्ने मुख्य पर्व हो । भगवान शिवका गणहरू नाग, नन्दी, भृंगी, चौसठ्ठी योगिनी, क्षेत्रपाल, वेताल, महाकाली, वीरभद्र आदिको आह्वान पूजा गरेर महाशिवरात्रि पर्व मनाइन्छ । महाशिवरात्रि पर्व देशभरका शिवालयमा भगवान शिवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाइन्छ । शिवको पूजा रात्रिको समयमा गरिन्छ । जवकि दिनमा पनि व्रत, उपवास गरेर रात्रिकालीन समय भगवान शिवको पूजा गर्ने विधान छ । भगवान शंकर सत्व, रज तथा तम तीनै गुणभन्दा माथि मानिएकोले संहार शक्तिका अधिष्ठातृ देवता हुन । त्यसैले अन्धकारयुक्त रात्रि शंकरजीलाई प्रिय लाग्नु स्वाभाविक देखिन्छ । यो हिन्दू धर्मावलम्विहरूका लागि प्रमुख पर्व मानिन्छ । शिवलाई वैदिक दर्शनले महान् आत्मा मानेको छ । शिव चिन्तन भन्नु अन्तरदेखि देखिने साक्षात्कार दृश्य झल्झली देखिनु हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा उल्लेख छ । विभिन्न नामले पुकारिने शिव प्रादुर्भाव भएको दिनका रुपमा शिवरात्रि मनाउने परम्परा चलिआएको हो ।
वैदिक मन्त्रहरुमा रुद्र, श्रीपशुपति महाशिव, महादेव, आशुतोश, अघोर, सद्योजात, वामदेव, तत्पुरुष, ईसान रुद्र आदि नामहरुबाट चारै वेदका ऋचाहरुमा भगवान् शिवको स्तुति गरिएको छ । वैदिककालीन सभ्यता नक्षत्र कालगणना अनुसार तीस हजार वर्षभन्दा पनि पूर्व अन्वेषकहरुले मानेका छन् । ज्योतिषशास्त्रअनुसार फाल्गुण कृष्ण त्रयोदशी र चतुर्दशीको सन्धि रात्रि ‘महाशिवरात्रि’ हो । यसकारण क्षयपूर्ण तिथि अमावश्याको अन्धकारको दुष्प्रभावबाट बच्नका साथै मानव जीवनमा ज्योति, शान्ति, समृद्धिका लागि एक दिन पहिले अर्थात् त्रयोदशीको रात्रिमा शिवजीको उपासना गर्ने परम्परा राखिएको हो । हरेक महिनाको त्रयोदशीको रात्रिलाई महाशिवरात्रि मानिदैन तर शिवको आराधना गर्ने रात्रि भने मानिन्छ । भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीलाई मोहरात्रि, असोज शुक्ल अष्टमी र नवमीको रातको सन्धिलाई कालरात्रि तथा तिहारको लक्ष्मीपूजाको रात्रिलाई सुखरात्रिका रुपमा मनाउने परम्परा हिन्दू धर्मावलम्बीमा छ । फागुन कृष्ण चतुर्दशीका मध्यरातमा महाशिवरात्रि पर्व मनाउने शास्त्रीय विधान रहेको छ । वैदिक सनातन धर्मावलम्बीले वर्षमा मनाउने चारवटा रात्रिमध्ये शिवरात्रि पनि एक हो । शिवले अवतार लिएको रातलाई नै शिवरात्रि भन्ने गरिएको विश्वास गरिन्छ ।
महाशिवरात्रिका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन, दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी ऊँ नमः शिवाय मन्त्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।