अन्तराष्ट्रिय डेस्क, २३ पुस ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको जितले अन्तिम औपचारिकता पाएको छ । हिंसात्मक तरिकाले अगाडी बढेका डोनाल्ड ट्रम्प भने अझै हार अस्वीकार गरिरहेका छन् । ट्रम्पका समर्थकहरुले संसद भवनमा गरेको आक्रमणका कारण केही घण्टा रोकिएको इलेक्टोलर कलेज मतलाई औपचारिकता प्रदान गर्ने संसदको संयुक्त शत्रमा बाइडेनको जितले अन्तिम औपचारिकता पूरा गरेको छ ।
अमेरिकाका सबै ५० राज्यबाट आएका इलेक्टोलर कलेज मतलाई तल्लो र माथिल्लो सदनको संयुक्त सत्रले प्रमाणिकरण गरेको छ ।अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिन्छ । बाइडेनले गएको नोभेम्बर ३ मा भएको चुनावमा ट्रम्पलाई ३०६–२३२ इलेक्टोरल कलेज मतले पराजित गरेका हुन् । यस्तै उपराष्ट्रपतिमा कमला ह्यारिसको जितले पनि औपचारिकता पाएको छ । बाइडेनले जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिने भएका छन् ।