विराटनगर ७ कार्तिक ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न नेपाल स्काउटले सचेतना अभियानसँगै स्वास्थ्य सामाग्री वितरणको अभियानलाई तिव्र बनाएको छ ।
नेपाल स्काउटको केन्द्रको निर्देशन अनुसार महामारीको रुपमा फैलिएको कोभिड १९ बाट बच्न सचेतानामूलक अभियानसँगै स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सुरु गरेको हो । नेपाल स्काउटले विराटनगरमा कार्तिक २ गतेदेखि अभियान सुरु गरेको छ ।
प्रदेश १ को राजधानी विराटनगरमा समुदाय स्तरमा तिव्र रुपमा संक्रमण फैलिएको सहरमा अहिले स्काउटले स्वास्थ्य सचेतना अभियानसँगै कोभिडबाट बच्न स्वास्थ्य सामाग्रीहरु सर्वसाधारणहरुलाई वितरण गर्दै आएको छ ।
विराटनगरको एक दर्जन ठाउँमा छुट्टा छुट्टै स्थानमा सचेतनामूलक कार्यक्रमसँगै स्वास्थ्य सामाग्री वितरण गरिएको हो । स्काउटले विराटनगरको पुष्पलाल चौक, तीनपैनी चौक, हाटखोला, चाँदनी चौक, जुटमिल चौक, डिएसपी चौक, ट्राफिक चौक लगायतको क्षेत्रमा सचेतना अभियानसँगै स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
हालसम्म विराटनगर महानगरपालिका भित्र ३० हजार भन्दा बढी निःशुल्क मास्क वितरण गरिएको नेपाल स्काउटले जनाएको छ । स्काउटले सर्वसाधरणहरूलाई मास्क वितरण सँगै सहि तरिकाले लगाउने साथै लगाएको मास्क डिस्पोज गराउने तरिका पनि सिकाउँदै आएको छ ।
नेपाल स्काउटले अहिले देशभरी सचेतनामूलक अभियान सँगै कोभिडबाट बच्न स्वास्थ्य सामाग्री वितरण गर्दै आएको छ ।