विराटनगर २२ भदौ ।
केहि परिवर्तनसहित मोरङमा थप एक साता निषेधाज्ञालाई यथावत् राखिने भएको छ । सोमबारबाट लागू हुनेगरी जिल्लाभरि २८ भदौसम्म निषेधाज्ञा थप गरिएको हो । निषेधाज्ञा यथावत् राख्दै साँझ ७ बजेसम्मका लागि व्यापार व्यवसाय सञ्चालन गर्न दिइने निर्णय गरीएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा दिनभरका लागि खुकुलो पारिएको हो । राती ९ बजेदेखि बिहान ५ बजेसम्मलाई हिँडडुलमा भने प्रतिबन्ध नै रहने छ । स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (३) अनुसार सैलुन, ब्यूटीपार्लर, गुद्री बजार, हटिया, सिनेमाहल, जिमखाना, कवर्ड हल बाहेक अन्य उद्योग, व्यवसाय तथा व्यापार साँझ ७ बजेसम्म खुल्ला गर्ने निर्णय गरिएको हो ।
सिटी रिक्सा सञ्चालनमा भने जोर बिजोर प्रणाली यथावत् राखिएको छ । दुईजनासम्म मात्र यात्रु राखेर सुरक्षा मापदण्ड अपनाउँदै सिटी रिक्साहरु सञ्चालन गर्न पाइने छ । निजि सवारी सञ्चालनमा भने जोर बिजोर प्रणाली हटेको छ । उद्योग, व्यापार र व्यवसाय सञ्चालनमा भने स्वास्थ्य मापदण्डलाई अनिवार्य पालन गर्नुपर्ने भएको छ ।