इटहरी ९ भदौ ।
इटहरीमा पत्रकारका लागि ‘फुड बैंक’ अभियान थालिएको छ । नेपाल प्रेस युनियन सुनसरीले ‘फुड बैंक’ अभियानको योजना ल्याएको हो ।
कोरोना महामारीको बेला विभिन्न सञ्चारमाध्यमहरुले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण बिदामा राख्ने, तलब–भत्ता कटौती गर्ने, नियमित पारिश्रमिक नदिनेसँगै कतिपय सञ्चारगृह बन्द भएका र केही आंशिकरुपमा सञ्चालन भएको भन्दै यो अभियान ल्याइएको प्रेस युनियन सुनसरी जिल्ला अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।
पत्रकारकै मात्र कमाइबाट धानिएको धेरैको परिवारलाईं समस्या भएपछि थोरै भए पनि राहत होस् भनेर यो योजना ल्याइएको अधिकारीले बताए ।
फुड बैंक अभियान सञ्चालन एवम् व्यवस्थापन गर्नका लागि जिल्लाका अग्रज पत्रकार एवम् प्रेस युनियनका पूर्वअध्यक्ष कृष्ण अधिकारीको नेतृत्वमा पाँच सदस्यीय समिति समेत तयार गरिएको छ ।