काठमाडौँ २६ असार ।
सरकारले प्रचलित भाडादरमा ५० प्रतिशत बढी रकम लिन पाउने व्यवस्थासँगै जिल्लाभित्र मात्रै सञ्चालन गर्ने गरी सिट क्षमताको ५० प्रतिशत यात्रु राखेर सवारी सञ्चालन गर्न दिने निर्णय गरेता पनि अहिलेको अवस्थामा सवारीसाधन सञ्चालन गर्न नसकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बताएको छ ।
महासंघकोे केन्द्रीय कमिटी बैठकले लकडाउन अवधिको बैंक किस्ता सार्नुपर्ने, ब्याज मिनाहा हुनुपर्ने, लकडाउनपछिको किस्ताका लागि समय सार्नुपर्ने र ब्याज पुनर्विचार गर्नुपर्ने लगायतका माग पूरा नभएसम्म यातायात सञ्चालन नगर्ने निर्णय गरेको छ ।
लकडाउनको लामो समयावधिसम्म पार्किङमा रहेका सवारी निकाल्दा सर्भिसिङमा निकै खर्च हुने अवस्था भएकाले पुर्नकर्जाको व्यवस्था गर्नुपर्ने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए । उनले चालक र सहचालकका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कोरोना बीमा गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
भाडा बढाएर सवारी सञ्चालन गर्नु अहिलेको समस्यामा समाधान नभएकाले दैनिक सञ्चालन खर्च उठ्ने र बैंक किस्ता तिर्न पुग्ने गरी उपदानको व्यवस्था हुनुपर्ने कर्माचार्यले बताए ।