विराटनगर २२ असार ।
रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कारले पत्रकार मीनकुमार नवोदित श्रेष्ठ पुरस्कृत भएका छन् । नेपाल प्रेस युनियनंद्वारा सोमबार विराटनगरमा आयोजित कार्यक्रममा पत्रकारिता र साहित्य क्षेत्रमा कलम चलाउँदै आएका श्रेष्ठलाई सम्मानसहित पुरस्कृत गरिएको हो । कार्यक्रममा पुरस्कार प्रतिष्ठानका संरक्षक सुवास रिजालले पुरस्कृत श्रेष्ठकै प्रेरणाबाट बुवा रमाप्रसाद रिजालले पुरस्कारको स्थापना गरेको बताए ।
यस पुरस्कारलाई निरन्तरता दिइने बताएका संरक्षक रिजालले आगामी वर्ष अक्षय कोषमा १ लाख रुपैयाँ थप गरि पुरस्कृत रकम समेत बढाउने घोषणा गरेका थिए । पुरस्कृत भएका श्रेष्ठले कोभिड १९ को महामारीसँगै लकडाउनकाबीच पुरस्कृत भएकोमा धन्यवाद व्यक्त गरेका थिए । पुरस्कृत श्रेष्ठ कारोबार दैनिक र मकालु टेलिभिजनमा कार्यरत रहेका छन् ।
स्वतन्त्र प्रजातन्त्र सेनानी रमाप्रसाद रिजाल १९८५ सालमा धनकुटामा जन्मिएका हुन् । साहित्य क्षेत्रमा समेत विशेष दखल राख्दै आएका रिजालको ‘ए चस्को दुखेको मुटु’ र ‘दुखेको वर्तमान’ नामक दुई वटा कविता संग्रह प्रकाशित छ । विराटनगर स्थायी बसोबास गर्दै आएका रिजाललाई २०७१ सालमा नेपाल प्रजातान्त्रिक सेनानी संघले महासेनानी सम्मानले सम्मानित गरेको छ । त्यसैगरि, २०७३ सालमा मनमोहन स्मृति प्रतिष्ठानले जेष्ठ नागरिक सम्मान गरेको थियो ।
कार्यक्रममा प्रदेश १ नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक केदार कार्की, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइटेल, यूनियनका जिल्ला सभापति कुमार लुइटेल लगायतको उपस्थिति रहेको थियो । यसै पुरस्कारबाट पत्रकार अजित तिवारी, अभयकुमार राई, शंकर खरेल पुरस्कृत भइसकेका छन् ।