काठमान्डौ १८ असार ।
संसदको बर्खे अधिवेशन अन्त्य हुने भएको छ । पार्टी भित्र संकट देखिए संगै प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरि फर्किए संगै मन्त्रीपरिषद बैठक मार्फत संसदको चालु अधिवेशन अर्थात बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गराएका हुन् । यस्तै बिहीबार बसेको मन्त्री परिषद बैठकले बेलुका पाँच बजेदेखि (असार १८ गते बिहीबार) लागु हुने गरी संसदको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
ओलीले पदबाट राजीनामा दिनु पर्ने माग नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित माधवकुमार नेपाल पक्षधरहरुले उठाइरहेका बेला ओलीले नयाँ बाटो चुनेका छन् । ओलीको निर्णयले सम्भावित संकट टर्ने अनुमान गरिएको छ । संसदको बर्खे अधिवेशन अन्त्य भए संगै प्रचण्ड–नेपाल पक्षले संसदमा अविश्वासको प्रस्ताव लैजान नपाउने भएका छन् । यो संगै ओलीलाई आफू अनुकुल अध्यादेश ल्याउने बाटो पनि खुल्ला भएको छ भने सत्ता टिकाउने रणनीतिमा ओली सफल भएका छन् ।