विराटनगर १५ असार ।
धान दिवसको अवसरमा मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १९ मा सामूहिक रोपाईं गरिएको छ । मानो रोपेर मुरी फलाउने भनाइलाई सार्थक बनाउन असार १५ मा धान दिवस मनाउदै आइएको छ । महानगरपालिकाका मेयर भीम पराजुलीले रोपाईं गरेर धान दिवसको शुभारम्भ गरेका थिए ।
यस्तै महानगरकी उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल, वडा नंं १९ का वडाध्यक्ष बन्द्रीनारायण सरदार , स्थानीय तथा कर्मचारीहरुले सामूहिक रोपाईं गरेर धान दिवस मनाएका छन् ।स्थानीय खापटोल वासी कृषकले खेतीका लागि महानगरले मलखाद जस्ता आवश्यक उपकरण सहयोग गर्न आग्रह गरेका थिए ।
स्थानीय हरियाली कृषक समूहले धान दिवस कार्यक्रमको संयोजन गरेको थियो । सो अवसरमा बोल्दै मेयर पराजुलीले स्थानीय कृषकको समस्या पहिचान गरी आवश्यक प्रबन्ध गरिने बताए ।