विराटनगर ९ असार ।
हरेक वर्ष झण्डै २० लाख मानिस सहभागी हुने गरेको मक्का–मदिनामा यसपटक कडाइ गरिने भएको छ । कोरोना सक्रमणलाई ध्यानदिदै हज यात्रीलाई साउदी अरेबियाले प्रबेश नदिने निर्णय गरेको हो । बिश्वका विभिन्न राष्ट्रबाट हज गर्न आउने यात्रीलाई प्रवेश नदिने र नआउन समेत भनिएको छ । मुस्लिम धर्मावलम्बीहरुले साउदी अरेबियामा रहेको पवित्र स्थल मक्का–मदिनामा हज यात्रा गर्छन् ।
हरेक वर्ष विश्वभरबाट लाखौँको संख्यामा मुस्लिमहरु हजका लागि साउदी पुग्छन् । सामाजिक दूरी कायम गराएर मानिसहरुलाई संक्रमणबाट जोगाउन यसखाले निति अवलम्बन गरिएको साउदी अरेबियाको सरकारी सञ्चारमाध्यमले जानकारी दिएका छन् । त्यहाँ १३ सय भन्दा बढीको कोभिड–१९ बाट ज्यान गएको साउदीमा हालैमात्र लकडाउन हटाइएको छ ।
नेपालबाट समेत हजारौको संख्यामा मुस्लिम समुदाय मक्का – मदिना जाने गरेका थिए । मुस्लिम सामाजिक अगुवा मुसरफ खानले भने “ यसपटक धेरैदेशका मानिसहरु जान पाएनन्। कोरोना सक्रमणलाई समेत ख्याल गर्दै मुस्लिम समुदायले भिडभाडका कार्यक्रम पूर्णरुपमा बन्देज गरेको छ । मक्का–मदिनामा जान गरिएको बन्देजलाई सहजरुपमा बुझिदिन पनि खानले आग्रह गरे ।