लकडाउनका कारण भएको क्षति अध्ययन गर्न कार्यदल बन्छ
विराटनगर २ असार ।
प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले कृषिक्षेत्रलाई आधार बनाएर नविनतम कार्यक्रम ल्याएको बताएका छन् । उत्पादन वृद्धि र रोजगारी सृजना गर्नेगरी ल्याइएका कार्यक्रम फलदायी हुने विश्वास आङ्वोले गरेका छन् । मंगलवार विराटनगरमा पत्रकारहरूसंगको छलफल मन्त्री आङ्वोले कतिपयले प्रदेश सरकारले कृषिको बजेट चालु आर्थिक वर्षको भन्दा थोरै विनियोजन गरेको टिप्पणी गरे पनि सरकारले कृषि क्षेत्रको बजेट नघटाएको स्पष्ट पारे ।
कृषिअन्तर्गत सिंचाई पनि पर्ने भएकाले सिंचाई क्षेत्रको बजेट जोड्दा कृषिका लागि विनियोजन गरिएको बजेटको आकार ठूलो भएको बताए । विषम परिस्थितिका कारण स्वास्थ्य क्षेत्रमा बजेट बढाउँदा पर्यटन र उद्योग क्षेत्रको बजेट घट्न गएको मन्त्री आङ्वोको भनाइ छ । उद्योग व्यवसाय क्षेत्रमा कोरोना महामारीले भएको क्षतिको अध्ययन गर्न छुट्टै कार्यदल गठन गरी समस्या समाधान गरिने मन्त्री आङ्वोले बताए ।