जनकुपुर ३० जेष्ठ ।
धनुषा प्रहरीकै थुनुवा कक्षमा मृत्यु भएका युवाको शव परीक्षण हुन सकेको छैन । मृत्यु भएको तीन दिन भइसक्दा समेत शव परीक्षण हुन नसकेको हो । बुधबार इलाका प्रहरी कार्यालय सबैला धनुषाको थुनुवा कक्षमा २३ वर्षीय शम्भु सदा मृत फेला परेका थिए ।
शवलाई प्रादेशिक अस्पताल जनकपुरमा ल्याएपनि पोस्टमार्टम हुन सकेको छैन। सदा सवारी ज्यान मुद्दामा प्रहरी हिरासतमा थिए । थुनुवा कक्षमै झुण्डिएको अवस्थामा शव फेला परेपछि परिवारजनले प्रहरीले नै सदाको हत्या गरेको आरोप लगाएका छन् ।
परिवारजनले शम्भुको हत्या गरेर शौचालयमा झुण्डयाएको आरोप लगाउँदै आएका छन् । घुस लिएर जनकपुरमा डाक्टरले गलत रिपोर्ट दिएको भन्दै आफन्तहरुले आफूले भनेकै डाक्टरले मात्रै शव परीक्षण गर्नुपर्ने माग गरेका थिए । उक्त मागमा सहमति भए पनि अझै शव परीक्षण भने हुन सकेको छैन । प्रहरीले उक्त घटना आत्महत्या दाबी गरे पनि स्थानिय र उनका आफन्तले हत्या भएकै दावी गरिरहेका छन् ।