विराटनगर २६ जेष्ठ ।
कोशी अस्पताललाई आफ्नो मातहतमा ल्याउन प्रदेश नं.१ सरकारले संघीय सरकार संग माग गरेको छ । कोरोनाको संकटकालीन अवस्थामा कतिपय कामहरु सहजरुपमा प्रदेश सरकारले गर्न नसकेको गुनासो उठ्ने गरेको छ । यी सवै सवालहरु समाधान गर्न प्रदेशको मातहतमा कोशी अस्पताललाई ल्याउन आबश्यक ठानेर पहल भइरहेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । उनले प्रदेशको मातहतमा आउदा कार्यव्यवस्थापनमा सहज हुने बताए ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि प्रदेशसभामा प्रस्तुत् गरेको नीति तथा कार्यक्रममा समेत कोशी अस्पताललाई प्रदेशको मातहतमा ल्याउन माग गरिएको छ । प्रदेश सरकार गठन भएको केही समय कोशी अस्पताल प्रदेशकै मातहतमा थियो । पुनः संघीय सरकारले कोशी अस्पताल आफ्नै मातहतमा राखेको थियो ।