काठमाडौं १५ सोमवार ।
जिल्ला अदालत काठमाडौंले साइबर अपराधको अभियोगमा पक्राउ परेका नेपाल सरकार पूर्व सचिव भीम उपाध्यायलाई धरौटीमा रिहा गरेको छ । विद्युतीय कारोबार सम्बन्धी मुद्दाको थुनछेक आदेशमा काठमाडौं जिल्ला अदालतले उपाध्यायलाई धरौटीमा रिहा गर्न भनेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठ जानकारी दिए । श्रेष्ठका अनुसार न्यायाधीश भरतमणि खनालको इजलाशले उपाध्यायलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
स्वास्थ्य सचिवको उजुरीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उपाध्यायलाई पक्राउ गरेको थियो । दुख दिने मनसायका साथ पक्राउ गरिएका उपाध्यायका विषयमा सामाजिक सन्जालमा सरकारको व्यापक आलोचना भएको थियो । आइतबार मात्रै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उपाध्यायविरुद्ध मुद्दा दायर गर्दै १ लाख रुपैयाँ जरिवाना र ५ वर्षसम्म कैद सजाय मागदाबी गरिएको थियो ।