विराटनगर १३ फागुन /
सार्वजनिक बाटो ओगटेर बनाइएका घर–टहरा विराटनगर महानगरले डोजर लगाएर भत्काएको छ । महानगरस्थित वडा नं १ पोखरिया भट्टा चोक बाट पूर्व परोपकार घाट छेउमा रहेका घर टहरा मंगलबार भत्काएको हो ।
सुकुम्बासीका नाममा सार्वजनिक सडकनै अतिक्रमण गरेर बनाइएका घर टहरा भत्काएर बाटो खाली गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले बताए । जग्गा खाली गर्न सूचनामार्फत आग्रह गरे पनि अटेर गरेपछि अतिक्रमित बाटोको जमिन खाली गर्नु परेको अधिकारीको भनाइ छ । महानगरको आग्रह अटेर गर्ने र बार्तामा समेत नबस्ने गरेका कारण लामो समय देखि महानगर आजित भएको थियो ।