विराटनगर ९ बुधवार , बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहणको विराटनगर महानगरले विदा दिएको छ । महानगरका प्रशासन शाखा प्रमुख केवल पोखरेलद्धारा हस्ताक्षरित जारी सूचनामा विहीबार सार्वजनिक विदा भएकोले महानगरका अन्तरगतका कार्यालय तथा शिक्षण संस्था बन्द रहने उल्लेख गरिएको छ । यस्तै महानगरद्धारा जारी अर्को सूचनामा बिहिवार तोकिएको नगर प्रहरीको परिक्षा स्थगित गरी पुस १४ गते तोकिएको समयमा गरिने उल्लेख गरिएको छ । यसका लागि महानगरमा सम्पर्क राख्न समेत महानगरले आग्रह गरेको छ । ग्रहण बार्नेका लागि बिहान १० बजे कार्यालय पुग्न अप्ठ्यारो हुने भएकाले बिदा दिएर सहज बनाएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिनुभयो । बिहान साढे ११ बजेसम्म भोजनसमेत नगर्नेका लागि असहज हुने र बिदा दिनुपर्ने माग सर्बत्र भएको थियो ।