काठमाडौं ,६ फाल्गुन । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्काएर देखाउन चुनौती दिएका छन् ।
नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको र त्यसपछि विकसित परिस्थितिका सम्बन्धमा सामाजिक सञ्जालमार्फत सांसद भण्डारीले भनेका छन्, ‘सरकार !!! चारवटा जहाज लिएर ओडिसाबाट विद्यार्थी लिएर आउन ! कसले रोकेको छ ? तब विश्वविद्यालय संग कुरा हुन्छ ! तिमि छौ भन्ने परिचय देउन सरकार !’
केआईआईटीमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार मृत अवस्थामा भेटिएकी थिइन् । उनी कलेजको होस्टलमा मृत भेटिएकी हुन् । घटनापछि आक्रोशित नेपाली विद्यार्थीहरूले विरोधका लागि सडकमा उत्रिएका थिए । उनीहरूले विश्वविद्यालय अगाडि प्रदर्शन गर्दै लम्सालका लागि न्यायको माग गरेका थिए । तर, ती विद्यार्थीहरुमाथि कलेज प्रशासनले दमन गर्दै कलेजबाट निकालेको थियो ।
यो घटनाको विरोधमा हाल नेपालको सडकदेखि सदनसम्म तातेको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा सांसदहरुले नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि कूटनीतिक र राजनीतिक पहल तत्काल थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।