मोरङ ,१८ माघ । मोरङको बेलबारीमा दुई दिवसीय बाल साहित्य तथा धिमाल भाषा गोष्ठी सम्पन्न भएको छ । बेलबारी साहित्य विकास समिति र नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँको संयुक्त आयोजनामा बेलबारी बहुमुखी क्याम्पसको सभा हलमा सम्पन्न कार्यक्रमको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले गरेका थिए ।
उक्त कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, उपप्रमुख नितु थापा कोइराला, पूर्व सांसद एवम् वरिष्ठ साहित्यकार द्वय हर्कमान तामाङ र कुन्ता शर्मा, संविधानसभा सदस्य मधु गुरुङ, नेपाल प्रज्ञा–प्रतिष्ठान भाषा तथा व्याकरण विभागका प्रमुख अगिव बनेपाली, कवि तथा समालोचक पुरुषोत्तम सुवेदी, बेलबारीका राजनीतिक तथा साहित्यिक व्यक्तित्व ईरान राई, लेखक तथा अनुसन्धाता केशु विरहीलगायतका विशिष्ट सामाजिक तथा साहित्यिक व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
साथै उक्त कार्यक्रममा बेलबारी बहुमुखी क्याम्पसका प्रमुख भूपेन्द्रप्रसाद कोइराला, बेलबारी प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रेखा सुवेदी, नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, प्रगतिशील लेखक सङ्घ कोसी प्रदेश अध्यक्ष तिला लेकाली, प्रलेस मोरङका अध्यक्ष विदुर सुवेदी, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरे, भानु साझा पुस्तकालय, साहित्य चौतारी झापाका उपाध्यक्ष नवीन बी दाहाल नवीन, सुन्दरहरैँचाका अध्यक्ष पुरन याक्खा लगायत विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको पहिलो दिन भगवती मावि, आदर्श सेकेन्डरी स्कुल, माउन्टेन इ. स्कुल, सगरमाथा इ. स्कुल, वीरेन्द्र मावि, कबीर मा वि, शिक्षा सन्देश इ. स्कुल, भानु सार्वजनिक गुठी बेलवारी लगायतका विद्यालयबाट उपस्थित विद्यार्थीहरूका साहित्यिक रचनाहरूको वाचन गरिएको थियो भने दोस्रो दिन धिमाल भाषाका साहित्यिक रचनावाचन भएका थिए । कार्यक्रममा बाल साहित्य तथा धिमालसम्बन्धी दुईओटा कार्यपत्र प्रस्तुत भएका थिए ।
बाल साहित्यसम्बन्धी कार्यपत्र ईरान राई र धिमालसम्बन्धी कार्यपत्र अजितकुमार धिमालले प्रस्तुत गरेका थिए । कार्यक्रममा हालसालै मात्र अमेरिकन विश्वविद्यालय केडारब्रोकबाट मानार्थ विद्यावारिधि तथा साहित्य गौरव स्वर्ण पदकबाट सम्मानित भएका साहित्यकार छवि वैरागी घिमिरे, बेलबारीका पुराना स्रष्टा हस्त थापा र धिमाल भाषा संस्कृतिका अभियन्ता कवीन्द्र धिमाललाई सम्मान गरिएको थियो । कार्यक्रमको पहिलो दिन कुन्ता शर्मा, पुरुषोत्तम सुवेदी, शार्दूल भट्टराई, यज्ञ सुसेली, तिला लेकाली, धनजीत पराजुली, अञ्जली कार्की, तथा दोस्रो दिन श्रीप्रसाद पोखरेल, भरत वर्वरिक, कुन्ता शर्मा, बाबुराम पोखरेल, रमेश खतिवडा, हिमांशु राय, शारदा दाहाल, रोहिणी रसिक लगायतका लेखक स्रष्टाहरूले रचनावाचन गरेका थिए ।
त्यस्तै सोही दिन मनोज धिमालले ‘बिरक्तिएको मन, टीकालाल धिमाले ‘चुल्ठो’, कवीन्द्र धिमालले ‘आमाको सम्झना’, अष्टनारायण धिमालले ‘मौनता’ शीर्षकका धिमाल भाषाका कविता वाचन गरिएका थिए भने सञ्जीव धिमाल सन्दिरा धिमालले धिमाल भाषाको गीत गाएका थिए । बेलबारी साहित्य विकास समितिका उपाध्यक्षद्वय लक्ष्मी रेग्मी सुवेदी र गोविन्द चोङबाङले क्रमशः पहिलो र दोस्रो दिनको कार्यक्रममा उपस्थित सबै अतिथिहरूलाई शब्दले स्वागत गरेका थिए ।
बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन भने पहिलो दिन उमा सिजापती र दोस्रो दिन शिव पराजुलीको रहेको थियो । बेलबारी साहित्य विकास समितिले बेलबारीको साहित्यका एउटा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । यसले समय समयमा महŒवपूर्ण कार्यक्रमा गर्दै आएको आफूहरू साहित्यका माध्यमबाट बेलबारीलाई चिनाउने काममा लागेको बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला बताउँछन् ।