झापा,,१३ माघ । कोशी प्रदेशमै पहिलो पटक भव्यरुपमा बिर्तामोड ५ अग्रसेन भवननजिक नवनिर्मित गायत्री माताको मन्दिरलाई जातीय सहिष्णुताको खुला धार्मिकस्थलको रुपमा विकसित गरिने भएको छ । अढाई करोड रुपैयाँको लागतमा बनेको आकर्षक गायत्री माताको त्यस मन्दिरलाई हरेक जातजाति , धर्म र समुदायको लागि साझा धरोहर बनाउने गरी मन्दिर निर्माण समितिले तयारी थालेको हो । त्यस गायत्री मन्दिरमा साझा रूपमा सबैले पूजा–अर्चना र श्रद्धा गर्न पाउँछन् ।
हरेक धर्मका धर्मावलम्बीहरुले एउटै ठाउँमा गायत्री माताको आशीर्वाद प्राप्त गर्न सक्छन् । गायत्री मन्दिर जति सुन्दर छ, धार्मिक र सांस्कृतिक सहअस्तित्वका हिसाबले उत्तिकै उदाहरणीय बनाइने मन्दिर निर्माण समितिका अध्यक्ष रौनक वंशलले बताए । हालसम्म ९२ वटा संघ संस्थाले गायत्री मन्दिरप्रति अपनत्व जनाइसकेका छन् । त्योसंगै त्यहाँ आयोजना हुने पाँच दिवसीय धार्मिक अनुष्ठान सफल बनाउने ती संस्थाहरुले सामूहिक प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । यो मन्दिरलाई कुनै समुदाय विशेषको मात्र नभएर सबैको साझा धरोहरको रुपमा विकास गर्न लागिएको अध्यक्ष वंशलले बताए ।
सो मन्दिरलाई व्यवस्थापन गर्न सबै जातजातिको प्रतिनिधित्व हुनेगरी व्यवस्थापन समिति निर्माण गरिने भएको छ । पाँच दिवसीय अनुष्ठान सम्पन्न भएपछि व्यवस्थापन समिति निर्माण गरिने भएको हो । मन्दिर निर्माणका लागि खर्च भएको आयव्यय सार्वजनिक गरिसकेपछि मन्दिरलाई दीगो र व्यवस्थित रुपमा संचालन गर्ने गरी व्यवस्थापन समिति बनाइने मन्दिर निर्माण समितिका अध्यक्ष वंशलको भनाई छ । बिर्तामोड – ५ स्थित अग्रसेन भवन दक्षिणपट्टि स्थानीय दानवीर, कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको संयुक्त लगानीमा गायत्री माताको मन्दिर निर्माण गरिएको हो ।
सो मन्दिर २०८० साल जेठ १७ गतेबाट निर्माण शुरु भएको थियो । मन्दिर निर्माण भएसंगै बिर्तामोड नगरपालिकामा पहिलो पटक गायत्री माताको पाँच दिवसीय अनुष्ठानका साथ प्राण प्रतिष्ठा गर्न लागिएको छ । यही माघ २१ गते मन्दिर उद्घाटनसंगै गायत्री माताको विधिपूर्वक प्राण प्रतिष्ठा गरिने गायत्री मन्दिर सेवा समितिका कार्यक्रम संयोजक वंशलले जानकारी दिए । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माताको प्राण प्रतिष्ठा गर्ने कार्यक्रम तय भएको कार्यक्रम संयोजक वंशलले बताए । माताको प्राण प्रतिष्ठा गर्नुअघि मन्दिर परिसरबाट निकालिने शोभायात्राले बिर्तामोड नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै माघ १७ गते प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले पाँच दिवसीय अनुष्ठानको उद्घाटन गर्ने र माघ २० गते जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचन आयोजना गरिएको कार्यक्रम संयोजक वंशलको भनाई छ ।
माघ १७ देखि २१ गतेसम्म पाँच दिन सञ्चालन हुने अनुष्ठानमा दैनिक भजन कीर्तन तथा महाप्रसाद बितरण गरिने कार्यक्रम तय भएको र दैनिक भजन कीर्तनका लागि नेपाल तथा भारतका चर्चित भजन गायक तथा कलाकारहरुको उत्कृष्ट प्रस्तुति रहने बताइएको छ । भजन कीर्तनका लागि कृष्ण भण्डारी,आयुष शर्मा,साहिल कोहली, धीरज सिंह राजपुत र नेहा सिंह राजपुत सहभागी हुने भएका छन् ।