विराटनगर,९ माघ । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले अपाङता तथा बहिरा व्यक्तिहरुको हकहितका सवालमा कुनै कसर बाकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार बहिरा सम्बन्धी साङ्केतिक भाषाको नयाँ शब्द सङ्कलन, सङ्केत निमार्ण र अनुमोदन तथा परिमार्जन विषयक कोशी प्रदेश स्तरीय तीनदिने गोष्ठीको सुभारम्भ गर्दै मन्त्री राइले यस्तो बताएका हुन् । उनले कोशी प्रदेश सरकार अभिभावककारुपमा उभिएर अपाङताको क्षेत्रमा काम गर्ने बताए । कसको के र कुन क्षेत्रअधिकार भन्ने भन्दा पनि नागरिकको नैसर्गिक अधिकारको संरक्षक सरकार बन्नुपर्ने बताए । अन्य भाषा जस्तै बहिराहरुको भाषा संरक्षण र नयाँ शब्द संकलन र पुस्तक प्रकाशन लगायत आवश्यक सवैखाले प्रवन्धमा प्रदेश सरकारको सहयोग रहने बताए ।
बुधबारदेखि सुरु भएको गोष्ठी शुक्रबारसम्म चल्ने छ । यस गोष्ठीले नयाँ शव्दका विषयमा छलफल र बहस पछि साङ्केतिक भाषाको नयाँ शब्द सङ्कलन, सङ्केत निमार्ण र अनुमोदन तथा परिमार्जनका विषयमा निष्कर्ष निकाल्ने छ । बहिराहरूलाई सबै विषय वस्तुको बारेमा जानकारी गराउन ७ हजार भन्दा बढी शब्दको साङ्केतिक भाषाको आवश्यकता पर्दछ । तर बहिरा सम्बन्धी ४ हजार शब्दमात्रै प्रयोजनमा आएका छन् । जसको कारण बहिराहरूले दोभाषे मार्फत सबै कुराको जानकारी पाउन सकिरहेका छैनन् ।
कार्यक्रममा नेपाल बहिरा महासंघ नेपाल कोशी प्रदेश समितिका अध्यक्ष सीताराम ओझाले कोशी प्रदेशमा बहिरालाई सबै विषयवस्तुको बारेमा जानकारी गराउन १५ जना दोभाषे रहेको जानकारी दिए । १५ जना दोभाषेलाई वार्षिक रूपमा तलब दिन ७० लाख रुपैयाँको आवश्यकता पर्दछ । तर कोशी प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय मार्फत वार्षिक रूपमा ५० लाख रुपैयाँ विनियोजन गरिरहेको छ । जुन अपर्याप्त रकम हो । ओझाले बहिराहरुको हकहितका सवालमा काम गर्न मन्त्री राइसंग आग्रह गरे ।
कार्यक्रममा बहिरा शिक्षक संघका केन्द्रीय सदस्य लोकनाथ गौतम,राष्ट्रिय बहिरा क्रिकेट संघका अध्यक्ष मोहन तिवारी,पत्रकार महासंघ मोरङका कोषाध्यक्ष कौशल निरौला, करुणा फाउण्डेसनका कार्यक्रम सहायक मीना खनाल,दोभाषे सन्तोषी घिमिरे लगायतको सहभागिता रहेको थियो ।