विराटनगर,१० मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा उखु उत्पादन वृद्धि एवं प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने बताउनु भएको छ । नेपाल फार्मस एडभाइजरी काउन्सिल प्रालि सिनामङ्गल काठमाण्डौंद्वारा आज विराटनगरमा आयोजित उखु खेती प्रवद्र्धनको लागि कृषकहरुको सीपमुलक तथा आय अभिवृद्धि अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले उखुको उत्पादनमा वृद्धि, बजारीकरण र मूल्यका लागि आगामी तीन महिना भित्र कृषक,उखु मिल र सरकारबीच त्रिपक्षीय छलफल सहित निश्कर्ष निकाली सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले प्रदेशमा कृषि उत्पादन वृद्धिका लागि कृषकले सिंचाईमा प्रयोग गर्ने विद्युत र मलखादमा आवश्यक अनुदान समेत दिने जानकारी दिनु भयो । उहाँले मुलुकमा रहेका उद्योगलाई आवश्यक पर्ने कृषि कच्चा पदार्थ उत्पादन गर्न किसानलाई आग्रह गर्दै यसबाट आयात प्रतिस्थापनभै विदेशी मुद्रा बचत हुने विचार राख्नु भयो । मुख्यमन्त्री कार्कीले तराईमा छिटो उत्पादन भई प्रतिफल दिने उखु ,धान, सनपाट र मकैको उत्पादन प्रवद्र्धनका लागि आगामी वर्ष २०८२-८३ को वार्षिक नीति तथा कार्यक्रम ल्याउनुका साथै बजेटको व्यवस्था गर्ने जानकारी दिनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले कृषकले आफ्नो उत्पादनको मूल्य आफ्नौ निर्धारण गर्न पाएमा मात्र उत्पादन वृद्धि हुने बताउनु भयो । प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले प्रदेशमा छ हजार हेक्टरमा उखुखेती हुनका साथै बार्षिक तीन लाख ५० हजार मेट्रिक टन उखु उत्पादन हुने जानकारी जानकारी दिनु भयो ।
मोरङका प्रम्ख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कृषकलाई सिंचाई, प्राविधिक ज्ञान, कृषि उत्पादनको उचित मूल्य निर्धारणमा गर्नु पर्ने सुझाव दिनु भयो ।
प्रदेश योजना आयोगका सदस्य सिताराम बस्नेतले उखु बालि नगदे भए पनि किसानले समयमा भुक्तानी नपाएर समस्या हुने भएकोले समाधान गर्नु पर्ने बताउनु भयो । दि नेपाल डिस्ट्रिलरिज प्रालि काठमाण्डौका प्रमुख अधिकृत जनकराज रेग्मी र पूर्व सचिव डा योगेन्द्रक्मार कार्कीले स्वदेशी पूँजी विदेश जान नियन्त्रण गर्न,वैज्ञानिक खेती, उखु उत्पादनलाई आधुनिकीकरण गर्न ,प्रविधिको प्रयोग,ज्ञान,मल, सिंचाई लगायत विषयमा किसानलई अभिमुखीकरण गर्नु कार्यक्रमको उद्देश्यले रहेको जानकारी दिनु भयो ।
एक दिने अभिमुखीकरण कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषदका वैज्ञानिक जगतबन्धु अर्यालयले खुट्टी बालीको महत्व तथा उन्नत व्यवस्थापन र मलखाद, डा दिलराज यादवले उखुका उत्कृष्ट जातहरु तथा उन्नत उत्पादन प्रविधि, उखु बालीको प्रमुख रोग र कीराहरु तथा तीनको व्यवस्थापन र पूर्व सचिव डा कार्कीले नेपालमा उखु खेतीको महत्व र सम्भावना विषयमा कृषकहरुलाई अभिमुखीकरण गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा मोरङ,झापा र सुनसरीका ४० जना उखु किसानहरुको सहभागिता रहेको छ।