Birat Post सोमबार, साउन २८, २०८१ मा प्रकाशित

featured photo: Birat Post
अरुणा उप्रेती
एउटा पार्टी प्यालेसमा विवाहका भोज हुँदै थियो । विभिन्न थरीका बदाम, भुटेका आलु, मम, चिसोपेय, रक्सी आदि पर्याप्त खाएपछि अतिथिहरू मुख्य खानातिर लागे । भात, चाउमिन, ३-४ थरीका तरकारी, कुखुराको मासु, माछा, आलुको अचार, साग, काउली, नान आदि एउटा प्लेटमा हालेर खान बसेका एक व्यक्तिले फेरि उठ्न नपरोस् भनेर नजिकै रहेको दही, केक, आइसक्रिम पनि सँगै ल्याए । टेबुलमा बसेर उनले खाँदा प्लेटमा सबै खानेकुरा थियो । तरकारी, अचार, मासु, चाउमिन, भात एकैठाउँमा मिसिएपछि त्योभन्दा अघि नै पर्याप्त स्न्याक्स खाइसकेकाले उनले प्लेटको दस प्रतिशत पनि खान सकेनन् । मुछेर यसै छाडे ।
केक र आइसक्रिम एकएक चम्चा खाए । जुठो पारे, ‘ओहो आज त धेरै खाइयो’ भन्दै पेट मुसारेर हिँडे । त्यो भोजमा मैले ३०-४० जनाजति व्यक्तिहरूले त्यसै गरेको देखेँ । यसरी धेरै खाना लिएर खान नसकेका घटना त आजकल पाँचतारे, तीनतारे होटलदेखि जुनसुकै सभा, भोजमा धेरै देखिन्छन् । धेरै जनाको त मन पनि कुँडिन्छ होला, यसरी खाना खेर गएको देखेर तर आएका पाहुनालाई ‘खान सक्ने जतिमात्र लिनुस्’, ‘खानेकुरा खेर नफाल्नुस्’ कसैले भन्दैन । यसो भन्नु अपमान हुन्छ भनेर होला ।
मेरी बज्यै अन्नलाई ‘देवता’ भनेर खानुभन्दा अघि अलिकता भात टपरीमा राखेर बाहिर कौसीमा राखिदिनुहुन्थ्यो र चराहरु खाएर जान्थे । उहाँ कहिले पनि खाना फाल्नु हुन्नथ्यो । मेरी आमा मैले बिहान स्कुल जाँदा दालभात मुछेर छोड्दा, त्यसै राखिदिनुहुन्थ्यो र बेलुका-बिहान छोडेको भात खाएपछि मात्र खाजा पाइने भएकोले ‘भात’ फाल्नु त सम्भव नै हुँदैनथ्यो ।
आजभोलि भोज खानेकुरा फाल्ने मानिसहरूले एकचोटी मात्र ‘मानिसहरु कतै एक रोटी र आलु खान नपाएर कुपोषण भएर बिरामी भएका छन्’ भन्ने विचार गर्ने हो भने सायद खाना फाल्दैन थिए कि ?
खाना धेरै फाल्नुको पछाडि मनोविज्ञान होला, तर पार्टीमा त्यसरी अनेकौं थरीका खाना लिएर छोड्ने मानिसहरुले आफ्नो घरमा त त्यसरी सबै भात, दाल, तरकारी, अचार, दुई थरी तरकारी एकैचोटी थालमा लिएर कहिले मुछ्दैनन् ।
एकजना मेरा अति नजिकका परिचितलाई उनले प्लेटभरि हालेका खानेकुरा देखाएर सोधेँ, ‘किन तिमीले सबै खानेकुरा एकैठाउँमा हालेको ? खानाको त स्वाद नै आउँदैन ।’ ‘तिमीले भनेको त ठीक हो, तर यस्तो भोजमा आएपछि मीठो खाना देखेपछि त जे पनि खाउँजस्तो लाग्छ, अलिअलि गरेर लिँदा पनि धेरै नै भयो’, ती व्यक्तिले अलि लजालु भावले भने । उनी पनि आधा खानामात्र खाएर प्लेट छोडेर हिँडे । मलाई हेरेर भने, ‘फाल्नुपर्यो, खानै सकिन । अबदेखि पार्टीमा जाँदा रोटी, तरकारी र दालमात्र लिनेछु ।’ उनी आफ्नो वचनमा अडिन्छन् कि अडिँदैनन्, मलाई थाहा छैन, तर हामीमध्ये कतिले खानेकुरा फाल्छौं । एकचोटी विचार गरौं त ? यही प्लेटमा राखिएको दालभातको सट्टामा मोहर र रुपैयाँ राखिएको भए, त्यसैगरी आधा फाल्ने थियौं होला त ?
कुपोषण र भोकमरी भएको देशमा यसरी धेरै अन्न फाल्नु अपराध होइन र ?
“ठूलठूला भोज हुने ठाउँमा ‘कसैले खान सक्ने जतिमात्र लिनुहोला’, ‘खाना खेर नफाल्नुहोला’ भन्ने लेखेर टाँसे भने मानिसहरुले खाना कम फाल्थे कि” भन्ने सुझाव मैले होटलमा भोज गर्नलागेकी दिदीलाई दिँदा उनले मलाई आँखा तरेर भनेकी थिइन्, ‘के हामी त्यस्तो गरिब छौं र त्यस्तो कुरा टाँस्ने । मानिसहरूलाई खान बोलाउने अनि कम खानोस् भन्ने ?’ ‘नखानोस् भन्ने होइन पेटभरि खानुहोस्, तर खाना खेर नफाल्नोस् पो भन्ने त ?’ मेरो कुरा सुनेर उनले ओठ लेप्राइन् ।
हामी १० जना पाहुना छन् भने १५ जनालाई पुग्ने परिकार पकाउँछौं, अरू पनि आइहाल्छन् कि भनेर । तर, बाँकी पाँच जनालाई पकाएको खाना खेर नै जान्छ । १० जना पाहुना बोलाउँदा ७–८ जनालाई पुग्ने खाना पकाउने हो भने धन, समय, ग्याँस सबैको खर्च जोगिन्छ ।
आजकल भोजभतेरमा पहिला नै पेयका साथ विभिन्न किसिमका ‘स्न्याक्स’ दिइने हुनाले सबैको पेट भरिसकेको हुन्छ । अनि खाना खाँदा धेरै लिएर आधा फालिन्छ, मानौं धेरै खाना फाल्नु भनेको बडप्पनको प्रतीक हो ।
हामीलाई यसरी खाना फ्याँक्दा ‘अरूले के भन्लान्’ भन्ने चिन्ता पनि हुँदैन । हाम्रा बालबालिका हुन् वा युवा–युवती, उनीहरू बिल्कुलै बेपर्वाहका साथ खाना फालिरहेका हुन्छन् । उनीहरूलाई खाना बनाउँदा लागेको श्रम र पैसाबारे सिकाइएकै हुँदैन । उनीहरूलाई नेपालमा आफूजस्ता धेरै बालबालिका र युवा भोको पेट बस्न बाध्य छन् भनेर बताइएको छैन । मेरी हजुरआमाले मलाई ‘अन्न भनेको भगवान हुन् यिनको अपमान गर्नुहुँदैन’ भनेर सिकाउनुभयो । त्यो सिकाइले मलाई अन्नप्रति आजीवन संवेदनशील बनायो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल