विराटनगर,२१ साउन ।
विराटनगरमा ३१ फिटको काँवर घुमाएर शिव मन्दिरमा जल चढाएको छ । विराटनगर- ८ भगवती बट्केश्वर महादेव थानगाच्छीवाट कामरु उठाएर नगरका विभिन्न भागको परिक्रमा गरि स्थानीय बासुकीनाथ मन्दिर र वनस्खण्डी मन्दिरमा जल अर्पण गरिएको थियो ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले कार्यक्रमको शुभारम्भ गर्नका साथै तीनवटै शिव मन्दिरमा काँवरमा राखिएको घडासहितको जल अर्पण गरेका थिए । यस भन्दा अगडि स-साना काँवर (कामरु) लिएर नगर परिक्रमा गर्ने गरिएको भएपनि यसपटकबाट भने विधिवतरुपमा काँवर बनाएर कार्यक्रम आयोजना गरिएको मन्दिर समितिका अध्यक्ष तथा आयोजक राघव सहनीले जानकारी दिए ।
यो विधिवाट पहिलो पटक विराटनगरमा भोलेनाथलाई जल अर्पण गरिएको सहनीले बताए । आगामी पुस्तालाई स्मरण हुनेगरीको काम भएको भन्दै सहनीले खुसी व्यक्त गरे । शुभारम्भ गर्दै केन्द्रीय सदस्य पराजुलीले पुरातन कुराहरुलाई अझ स्तरिय बनाउदै कार्यक्रम गरिएको भन्दै आयोजकलाई धन्यवाद दिए । सनातन धार्मिक उन्नयनमा युवा पुस्ताको सक्रियता र चासोलाई आफुले उपलव्धिकोरुपमा लिएको बताए । ऐतिहासिक धार्मिक स्थल,जल,जमिन र तिनको स्वामित्व रक्षाका लागि लाग्न पनि उनले आग्रह गरे ।
यस्तै आज साउन महिनाको तेस्रो सोमबार । बिहानैदेखि देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ ।
साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले ब्रत बस्ने परम्परा छ । यस दिन विशेष रूपमा आशुतोष भगवान् शिवको पूजाआराधना गरिन्छ ।
आजको दिनमा महिलाहरूले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहँदै आएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
फोटो : कौशल निरौला