काठमाडौँ,१३ साउन । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आइतबार जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।
विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले २०६९ साउन १० गते गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित उनलाई बिगो र त्यही बराबर २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो। विशेष अदालतले जोशीलाई डेढ वर्ष कैद हुने फैसला पनि गरेको थियो।
न्यायाधीशद्वय शर्मा र ढकालको इजलासले सजायमा केही फेरबदल गर्दै ६९ लाख १५ हजार रुपैयाँ जरिवाना र ९ महिना कैद सजाय सुनाएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।