Birat Post शनिबार, साउन १२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१२ साउन । नेपालका विभिन्न स्थानमा हैजा र डेङ्गु सङ्क्रमणको खतरा बढ्दै गएको छ । स्वास्थ्य विज्ञहरुले अधितम सचेतता अपनाउन आग्रह गरिरहेका छन् । ललितपुरमा हालैमात्र चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा मुकेश पौडेलले जानकारी दिए।

हैजा पुष्टि भएका सबै युवा ललितपुरको गोदावरी नगरपालिका–१४ मा स्थिति सुधार केन्द्रका हुन्। उनीहरुमध्ये दुई जना उपचारका क्रममा भागेका छन् भने अन्य दुईजनामध्ये एक जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र अर्को एक जनाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा भुवन पौडेलले सुधार केन्द्रमा रहेका युवामा एक्कासी झाडापखाला देखिएको र परीक्षण गराउँदा हैजा पुष्टि भएको बताए।

उनले झाडापखाला फैलिएको क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहको सहयोगमा सङ्क्रमण रोकथाम गरिएको जानकारी दिए। बर्खायामसँगै पानीजन्य रोग बढ्ने भएकोले पानी उमालेर खान अनुरोध गरेका छन्। यस्तै सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा दुई जना बिरामीमा हैजा पुष्टि भएको छ। उनीहरु दुवै जनाको सेती प्रादेशीक अस्पतालमा उपचार भइरहेको छ। सेती प्रादेशीक अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलका दुई जनामा हैजा पुष्टि भएको छ। स्वास्थ्य कार्यालयका अनुसार पशुपति टोलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएको हो। यस्तै अन्य मानिस वा समुदायमा प्रवेश पाए यसले महामारी निम्त्याउने भन्दै सचेत बन्न आग्रह गरिएको छ ।

डेङ्गु सङ्क्रमणको खतरा उस्तै : 
यस्तै विभिन्न जिल्लामा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार ६ सय ५७ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ।

मन्त्रालयले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएकाले मनसुनको समयमा लामखुट्टेको प्रजनन अवस्था अनुकूल बन्नसक्ने र डेङ्गुको सङ्क्रमण पनि बढ्नसक्ने आकलन गरिएको उनले बताए। उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिएको जानकारी दिए।

सबैभन्दा बढी काठमाडौँ जिल्लामा एक सय ९६ जनामा डेङ्गु देखिएको छ। त्यसपछि झापामा एक सय २८ र चितवनमा ९२ जनामा सङ्क्रमण देखिएको डा दाहालले बताए। वर्षाकाबेला पानी सङ्कलन गरेर राख्ने, सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भन्दै त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको सङ्क्रमण बढेको उनले उल्लेख गरे। उपत्यकामा दुई सय ५५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। “पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ। त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्छ”, रोग शाखाका प्रमुख डा दाहालले भने। डेङ्गु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन उनले आग्रह गरे।

डेङ्गुबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेकाले आफ्नो घर वरिपरि तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकैबेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउनेजस्ता कुरामा ध्यान दिनुपर्दछ।

 

सम्बन्धित

ताजा अपडेट
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
नेपालमै पहिलो पटक बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने
ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल पक्राउ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल