विराटनगर,२४ जेठ/ विराटनगरलाई डुबानमुक्त बनाउने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले नाला र पैनी तथा ढल सफाईलाई तीव्रता दिएको छ । सफाइका हरेक गतिविधिमा मेयर नागेश कोइराला आफैं उपस्थित भएर अनुगमन गर्दै आएका छन् ।
प्रदेश संसद भवन अगाडिबाटसुरु गरिएको ढलको सफाइ विभिन्न वडामा जारी छ । त्यस्तै मेयर कोइरालाले बिहीबार विराटनगर–६ स्थित केशलिया रोडको नालाको सफाइको अनुगमन गरेका छन् । मेयर कोइरालाले नाला मात्रै नभएर पानी क्रस हुने होमपाइप र कल्भर्टसमेत सफा गर्न निर्देशन दिएका छन् ।
प्लाष्टिक, बोतल, बोरा, कार्टुनलगायतका सामान नालामा विर्सजन गर्दा सफाइमा समस्या भएको छ । उनले पानी सहज निकासका लागि नालामा फोहोर नफ्याल्न सबैलाई आग्रह गरेका छन् । महानगरवासीलाई डुबान समस्याबाट मुक्त गर्ने प्रयास गरिरहेको उनको भनाइ छ ।
सफाइका क्रममा पानीको बोतल, प्लाष्टिक, पुरानो जुत्ता, चप्पल, बियर र रक्सीका बोतल अत्यधिक भेटिएको महानगरको सरसफाई शाखाका किरण न्यौपानेले जानकारी दिए ।