काठमान्डौं,१ बैशाख । अलराउण्डर दीपेन्द्रसिंह ऐरीको कीर्तिमानमा नेपालले ओमानमा जारी एसिसी मेन्स प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ । शनिबार भएको दोस्रो खेलमा नेपालले कतारमाथि ३३ रनको सानदार जित निकालेको हो ।
अल अमेरत क्रिकेट मैदानमा नेपालले जितका दिएको २१२ रनको लक्ष्य पछ्याउने क्रममा कतार निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रनमै समेटिएको हो । कतार का लागि कप्तान मुहम्मद तानविरले विष्फोटक ब्याटिङ गर्दै अर्धशतकीय इनिङ खेले । उनले ३३ बलमै ६३ रन प्रहार गरे । त्यसपछि अन्य खेलाडीको प्रदर्शन भने राम्रो रहेन । मोहम्मद अनहाफले २३ रन, हिमांशु राठोडले २२ रन तथा एड्मान मिर्जाले १९ रन जोडे ।
बलिङमा नेपालका दीपेन्द्र र गुल्सन झा र ललित राजवंशीले २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २१० रन बनायो । नेपालका लागि ऐरीले सर्वाधिक ६४ रन बनाए । कूल २१ बल खेलेका उनले सात छक्का र तीन चौका प्रहार गरे ।
नेपालका लागि ऐरीले कीर्तिमानी खेल प्रदर्शन गरेका छन् । उनले एकै ओभरमा छ छक्का प्रहार गर्दै यसअघि भारतका युवराज सिंहका नाममा रहेको कीर्तिमानको बराबरी गरेका छन् । पारीको अन्तिम ओभरमा बलिङ गर्न कतारका कमरान खान आएका थिए । उक्त ओभरको छ बलमा ऐरीले छ छक्का प्रहार गरेका थिए ।
नेपालका लागि ओपनर आशिफ शेखले पनि अर्धशतकीय पारी खेले । उनले ४१ बलमा छ चौकाको सहयोगमा ५२ रन बनाए । कुशल मल्लले १८ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकाको सहयोगमा ३५ रन बनाए । साथै कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२, सन्दीप जोराले सात, गलसन झा र विवेक यादवले पाँच÷पाँच रनको योगदान दिए ।
कतारका लागि हिमांशु राठोर र मुसावर शाहले तीन/तीन विकेट लिए भने अमीर फारुकले एक विकेट लिए ।