हेटौंडा, १६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग एकता,एकीकरण नगर्ने वताएका छन् । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै थापाले राप्रपासँग विगतमा एकता गरेर गल्ती भएको बताए । उनले फेरि राप्रपासँग एकता गरेर गल्ती गर्न नचाहेको बताए ।
राप्रपा र राप्रपा नेपालबीच २०७३ सालमा पार्टी एकता भएको थियो । पार्टी एकतापछि नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बनेको थियो । जसमा कमल थापा अध्यक्ष र राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणा भएका थिए । त्यस लगत्तै पार्टीको महाधिवेशनबाट राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापाले पुनः राप्रपा नेपाल ब्यूँताएर राजनीतिमा आएका छन् ।