काठमाडौं ,१५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण नयाँ बनाएपछि संघीयताको कार्यान्वयन, विकास निर्माण र सुशासनका लागि काम गर्न नसके आफूले पद ओगटेर नबस्ने प्रष्ट्याएका छन् ।
राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई बिहीबार सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले सुशासन र विकासको काम अगाडि बढाउनुपर्नेमा जोड दिँदै पदका लागि नयाँ समीकरण नबनाएको जिकिर गरे ।
प्रधानमन्त्री प्रचण्डले आफूले काम गर्न नसके अर्को उथलपुथल गर्न सक्ने चेतावनी पनि दिए । ‘मैले भन्ने गरेको कामै गर्न नसक्ने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन । ‘अहिले समीकरण चेन्ज भएको छ, त्यसलाई गण्डकीको मुख्यमन्त्रीज्यूले उथलपुथलकारी कदम भनिदिनुभयो । उथलपुथल त मैले भनेको थिएँ । म साँचै भन्छु कुनै पनि काम अगाडि बढ्न सकेन भने अर्को उथलपुथल गर्न बेर लाग्दैन ।