featured photo: Birat Post
विराटनगर,१३ चैत । यही आउँदो चैत १५ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा ( एस इ इ -२०८० ) मोरङका ७० वटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष तथा सहायक केन्द्राध्यक्ष लाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा अभिमुखीकरण तालिम भएको हो ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण तालिममा ७० वटै परीक्षा केन्द्रका केन्द्राध्यक्ष तथा सहायक केन्द्राध्यक्ष को सहभागिता थियो । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप शाह मोरङका प्रहरी प्रमुख नवराज कार्की सामाजिक विकास मन्त्रालय कोशी प्रदेशका उपसचिव दामोदर फुयाँल शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंकप्रसाद गौतम राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेश प्रमुख जीवन गडतौला नेपाल शिक्षक महासङ्घ मोरङका अध्यक्ष कुमार पोखरेल शिक्षा विकास तथा समन्वय इकाइ मोरङका शाखा अधिकृत शिवप्रसाद घिमिरे लगायतले सहजीकरण गर्नुभएको थियो।
माध्यमिक शिक्षा परीक्षा २०८० मा मोरङबाट १७,५४३ जना विद्यार्थीहरू सहभागी हुँदैछन्। काठमाडौँपछि देशकै सबैभन्दा धेरै विद्यार्थी र परीक्षा केन्द्र रहेको जिल्ला मोरङ नै हो। मोरङमा प्राविधिक धारका विद्यार्थीहरूका लागि दुईवटा परीक्षा केन्द्र तोकिएको छ। विराटनगरको महेन्द्र मावि गहिली र बेलबाडीको कबिर माविमा प्राविधिक धारका विद्यार्थीहरूले परीक्षा दिनेछन् ।
परीक्षालाई मर्यादित अनुशासित बनाउनका लागि कठोर हुन केन्द्रध्यक्षहरूलाई मोरङका प्रहरी प्रमुख नवराज कार्कीले निर्देशन दिनुभयो । उहाँले सुरक्षा निकाय ले भरपर्दो सुरक्षा दिने हुँदा परीक्षा केन्द्रहरूमा शान्त वातावरणमा परीक्षा सम्पन्न गर्न आग्रह गर्नुभयो। शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख टंकप्रसाद गौतमले गतवर्ष परीक्षा अमर्यादित तथा अनैतिक कार्य गर्ने पाँचवटा परीक्षा केन्द्र र केन्द्राध्यक्ष कारबाही भएकाले परीक्षा सञ्चालन मा गम्भीर हुन आग्रह गर्नुभयो। २५ विद्यार्थी बराबर एक निरीक्षक रहने र परीक्षा कोठाको सम्पूर्ण जिम्मेवारी निरीक्षकले लिनुपर्ने निर्देशन परीक्षा समितिले दियो।
नेपाल शिक्षक महासङ्घ मोरङका अध्यक्ष कुमार पोखरेलले विद्यार्थीहरूलाई सहज र पायक पर्ने ठाउँमा परीक्षा केन्द्र तोकिनुपर्ने बताए ! मिक्लाजुङ गाउँपालिका टाढी स्थित श्री कालिका माध्यमिक विद्यालय का प्राविधिक धारका विद्यार्थीहरू बेलबाडी नगरपालिका स्थित कवीर माविमा परीक्षा दिनुपर्ने अवस्था देखिएकाले आगामी दिनहरूमा विद्यार्थीको सहज र सरल पायक पर्ने स्थानमा परीक्षा केन्द्र तोक्न जिल्ला परीक्षा समितिलाई आग्रह गरे ! माध्यमिक शिक्षा परीक्षा सञ्चालन अवस्थामा निरीक्षक तथा कार्यालय सहयोगी हरूलाई पूर्ण रुपमा मोबाइल प्रयोगमा निषेध गरिएको जानकारी इकाई प्रमुख टंकप्रसाद गौतमले बताउनुभयो ।
आधारभूत तहका शिक्षक मात्र निरीक्षक बन्न सक्ने कानुनी मान्यतालाई आधार मानी केन्द्राध्यक्षहरूले निरीक्षक तथा कार्यालय सहयोगीहरूको परिचय नामावली विवरण पालिकामा १४ गते भित्र अनिवार्य बुझाउनुपर्ने बताइएको छ ! प्रत्येक परीक्षा केन्द्रमा एकजना नर्सको व्यवस्था समेत गरिएको जानकारी इकाई प्रमुख टंकप्रसाद गौतमले दिनुभयो।
सम्बन्धित