विराटनगर,२८ फाल्गुन ।
शैक्षिक, अन्तरक्रियात्मक र अनुसन्धानका क्षेत्रमा काम गरिरहेको “एक्रेस एकेडेमिया” संस्थाले शिक्षा सशक्तिकरण चुनौती र समाधान विषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष सुशिल अधिकारीको अध्यक्षतामा भएको शिक्षा सम्वन्धि सामुहिक छलफलको संयोजन सेवन्त निरौलाले गरेका थिए ।
विराटनगर महानगरपालिका वडा न.१९ मा शनिबार भएको उक्त कार्यक्रममा वडा न. १९ का वडाध्यक्ष श्याम घिमिरे, शिक्षा अधिकृत नवराज ढुंगाना , पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक सुवासचन्द्र रेग्मी, बाल अधिकारकर्मी निशा ठाकुर लगायतका बक्ताहरुले आ-आफ्ना धारणा राखेका थिए ।
विद्यार्थी, नीति निर्माता र कार्यकारी निकायबीचको समस्या , शिक्षा सशक्तिकरण चुनौती र समाधानका विषयहरु मुख्य मुद्धाका रुपमा उठाइएको थियो । शिक्षा सुधारका लागि स्थानीय जनता ,जनप्रतिनिधि र अभिभावकहरु सचेत हुनुपर्ने निष्कर्ष सहित छलफल अन्त्य गरिएको संस्थाका सदस्य सुमन बन्जराले जानकारी दिए ।