काठमान्डौं,२८ माघ ।नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोबासको लागि गएका छन्।
आइतबार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले यस्तो जानकारी दिएको हो।
विभागले सन् २०२३ मा नेपालबाट स्थायी बसोबास गर्नको लागि विदेश जाने नेपालीको संख्या ७० हजार ९१५ जना रहेको जानकारी दिएको हो।
समिति बैठकमा बोल्दै अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०२३ मा १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिक विदेशी जाँदा १२ लाख ६३ हजार ४६९ भित्रिएको बताए।
उनले पछिल्लो एक वर्षमा विदेश गएकामध्ये ३ लाख ४० हजार ३६९ जना नेपाली विदेशमा नै बसेको बताए। उनले यस अवधिमा अध्ययनको लागि १ लाख ८ हजार ५४२ जना, अस्थायी बसोबास भिसामा ९२ हजार ३४९, स्थायी बसोबास भिसामा ७० हजार ९१५ जना र विवाह गरेर डिपेन्डेण्ट भिसामा २० हजार ६१३ जना नेपाली विदेश गएको बताए।
उनले यसरी पछिल्लो एक वर्षमा २ लाख ९२ हजार २४० नेपाली कुनै न कुनै रुपमा विदेश बस्नेगरी गएको दाबी गरे। महानिर्देशक तामाङले २ लाख ९२ हजार २४० तथ्याङ्कमा भारतको भूमि भएर तेस्रो देशमा गएका नागरिकहरुको संख्या समावेश नभएको बताए।
उनले सन् २०२३ मा ८ लाख ८ हजार ४१५ नेपाली नागरिक श्रमिकको रुपमा विभिन्न देश गएको बताए। उनले नेपालबाट विदेशमा बसेका छोरा छोरीकोमा नातासम्बन्ध भिसामा १ लाख ६७ हजार ४८५ जना नेपाली विदेशमा रहेको बताए।
उनले भ्रमण तथा धार्मिक प्रयोजनको लागि १ लाख ४ हजार ५१५ नागरिक नेपालबाट विदेश गएको तथ्याङ्क विभागसँग रहेको जानकारी दिए।