विराटनगर,१५ माघ ।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालको परम्परागत घोकन्ते शैक्षिक प्रणालीले बेरोजगारी बढाइरहेको बताएका छन् ।कोइरालाले भने, केवल शब्द रटानले मात्रै देश बन्दैन । बिकासका लागि दक्ष प्राविधिक जनशक्ति आवश्यकता हुन्छ ।
अहिलेको समयमा केवल किताबी ज्ञानले मात्रै न व्यक्तिको जीवन चल्छ न देश उन्नतिको बाटोमा जान्छ, जबसम्म राज्यले युवालाई व्यावसायिक शिक्षा दिन सक्दैन र उध्यमशिल बनाउँन सक्दैन तवसम्म देश समृद्धिको बाटोमा जान सक्दैन ।
अन्तर्राष्ट्रिय वजारमा बिक्ने व्यावसायिक र प्राविधिक जनशक्ति तयार गर्ने कुरामा राज्य चुकिरहेको कोइरालाले बताए । राम्रो प्राविधिक जनशक्ति तयार गर्दा बैदेशिक रोजगारीमा जानेले पनि राम्रो काम पाउँने र स्वदेशमै बस्नेले पनि राम्रो आय(आर्जन गर्न सक्ने उनको भनाई थियो ।
शैलजा आचार्य स्मृति पोलिटेक्निकको २२औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मोरङमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले कृषि, पशुपालन, पर्यटन, स्वास्थ्यका क्षेत्रका प्राविधिक जनशक्ति उत्पादनमा राज्यले ध्यान दिनुपर्ने बताए ।
पोलिटेक्निककी अध्यक्ष मीता आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद सहा , पोलिटेक्निकका प्रिन्सिपल सन्त अधिकारी,कोषाध्यक्ष मोहनलाल महतो ,सञ्चालक सदस्य विकास पराजुली लगायतको सहभागिता रहेको थियो ।