विराटनगर,२७ पुस । बल्लभप्रसाद दाहालको नेतृत्वमा रहेको एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले शुक्रबार विराटनगरमा ३०२औं पृथ्वी जयन्ती मनाएको छ । राजसंस्था फर्काउ अभियानमा लागेको समितिले शुक्रबार आयोजना गरेको र्यालिले नगरका विभिन्न भागको नगर परिक्रमा गरेको थियो । सो क्रममा सहभागीहरुले श्री ५ ज्ञानेन्द्र शाह जिन्दावाद, गणतन्त्र मुर्दावाद, राजतन्त्र जिन्दावाद जस्ता नारा लगाएका थिए ।
नगरका विभिन्न भागको परिक्रमा पछि रामजानकी मन्दिरमा आयोजित सभामा नेपाल विद्धत परिषद्का केन्द्रिय उपाध्यक्ष पूर्वाञ्चल संयोजक एवं एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका अध्यक्ष बल्लभप्रसाद दाहाल, नेपाल विद्धत परिषद्का केन्द्रीय अध्यक्ष एवं संघर्ष समितिका सल्लाहकार जीतबहादुर अर्जेल, नेपाल सदभावना मञ्चका राष्ट्रिय अध्यक्ष एवं संघर्ष समितिका सल्लाहकार बद्रीप्रसाद मण्डल र नेपाली कांग्रेसका बरिष्ठ नेता एवं विराटनगर नगरपञ्चायतका पूर्व प्रधान पञ्च रामकृष्ण भट्टराईले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै समितिका अध्यक्ष दाहालले देश कठिन मोडमा पुगेको भन्दै चिन्ता व्यक्त गरे । उनले अब बोल्न नपाइने स्थितीमा देश पुगीसकेको र देशमा निरङ्कुशता हावी भएको बताए । अझै देश गम्भिर मोडमा जादै छ ,अहिले हामी बोलीरहेका छौ दाहालले भने , अव यति भन्दिने मानिस पाउन पनि गाह्रो छ । हामी चिच्याइरहेका छौ ,अव वुझ्ने पालो जनताको हो ।, उनले राष्ट्रिय स्वाभिमान खस्किएको र जोगाउने कर्तव्य पनि नेपाली जनताको भएको भन्दै सत्यता पहिचान गरेर अगाडि बढ्न आग्रह गरे ।