विराटनगर,८ पुष । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गेयर चेन्ज गरेर वर्तमान सरकार अझ एकस्टेप अगाडि बढेर काम गर्न आतुर रहेको बताएकी छन् । प्रेस सेन्टर नेपाल मोरङद्धारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले गठबन्धन दलहरुकै सहमतिमा जनताले अनुभुती गर्नेखालका काम गर्ने लक्ष्यका साथ सरकार अगाडि बढ्ने बताइन् ।
उनले भनिन् ,” प्रचण्ड नेतृत्वको वर्तमान सरकारले १ वर्षमा गरेका काम र उपलव्धीको समिक्षा गर्दै अझ सशक्त ढंगले अगाडि बढ्ने छौ ।” वर्तमान सरकारले संविधानको रक्षा गरेको ,हाइप्रोफाइल कल्चरको अन्त्य गरेको ,भुटानी शरणार्थी,सुनकाण्ड,ललिता निवास लगायतमा जोडिएका ठूला मानिसहरु समेत कानुनी कठघरामा आउनुपरेको भन्दै सरकारले गरेका काम प्रशंसायोग्य भएको दावी गरिन् ।
यस्तै सुचना तथा सञ्चारक्षेत्रमा पनि समयक्रम अनुरुप उल्लेख्य विकास भएको बताइन् । मध्यपहाडी राजमार्गअन्तर्गत कोसी खण्डअन्तर्गत धनकुटाको हिले एक्सचेन्ज सेन्टरमा सूचना महामार्ग अप्टिकल फाइबर नेटवर्क उद्घाटन गरिएको , डिजिटल च्याम्पियन कार्यक्रम अगाडि ल्याइएको ,आइटी मेला लगाउने काम भइरहेको र सामाजिक सन्जालको नियमनका लागि काम थालनी भइसकेको बताइन् । सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको र यसका लागि अधितम नयाँ प्रविधिमा जोड दिइएको जानकारी दिइन् ।