विराटनगर,२९ मंसिर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर कंकालिनी गण टंकीसिनवारी मोरङको निर्माण हुन लागेको बैठककक्ष (मिटिङ हल)को शिलान्यास गरेका छन् ।
शुक्रबार गणमा आयोजित कार्यक्रममा मेयर कोइरालाले विधिवत रुपमा बैठककक्षको शिलान्यास गरे ।
४० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको भवन एसीसहितको सुविधासम्पन्न हुने सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज थापाले जानकारी दिए । ४० फिट लम्बाई र २० फिट चौडाइको भवनमा बैठकका साथै अन्य कार्यक्रमका लागि समेत प्रयोग गरिने जनाइएको छ । शिलान्यास कार्यक्रममा मेयर कोइरालाले शान्ति सुरक्षासहित सीमा सुरक्षा र तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका अहम रहेको बताए । उनले विपदको बेला उद्धार र राहतमा समेत सशस्त्र प्रहरीले उत्कृष्ट काम गर्ने गरेको सुनाए ।
कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगर, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, धनपालथानका अध्यक्ष जिवछ गच्छदार, जहदाका अध्यक्ष जितु साह, बूढीगंगा वडा नम्बर १ का अध्यक्ष सोमराज काफ्लेलगायतको उपस्थिति रहेको थियो ।