कौशल निरौला
विराटनगर,२६ मंसिर / विराटनगरका अरु हस्पिटलले काम बिराउदा न्युरो हस्पिटललाई चिन्ता परेको छ । यसको कारण हो झण्डै-झण्डै नाम मिल्न जानु । न्युरो हस्पिटल भनेपछी मानिसहरुले विराटनगर -१० स्थित बंगलामुखी मन्दिर छेउमा रहेको हस्पिटललाई लिने गर्दछन् । तर नाम मिल्दोजुल्दो हुदा समस्या सिर्जना भएको हस्पिटलको बुझाइ छ । कतिपय हस्पिटलले सेवाग्राहीलाई गलत सुचना सम्प्रेषण गर्ने,डाक्टरहरुका वारेमा अफवाह फैलाउने,न्युरो अस्पताल संग मिल्दोजुल्दो होडिङ बोर्ड राख्ने गरेको भन्दै हस्पिटलले सचेत रहन आग्रह गरेको छ ।
मंगलबार अस्पतालले पत्रकार सम्मेलन गर्दै दुइ दशक भन्दा लामो समय उत्कृष्ठ स्वास्थ्य सेवा प्रदान गरेर कमाएको ख्यातीलाई अनुचित तवरले प्रयोग गर्ने गलत प्रवृती विराटनगरमा भइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले न्युरो कार्डियो एण्ड मल्टिस्पेशियाललिटी प्रा.लि (न्युरो हस्पिटल) संग मिल्दो जुल्दो नाम राखी सेवाग्राही माथी खेलवाड गर्ने गरेको भन्दै सजग रहन आग्रह गरे ।
न्युरोले आफ्नो स्थापनाको २३ वर्षे यात्रामा गम्भिर प्रकृतिका रोगहरुमा विशेषज्ञ चिकित्सकहरुबाट विभिन्न २३ वटा सेवाहरु प्रदान गर्दै आइरहेको र यो सेवा अन्य स्थानमा नमिल्ने भट्टराईको दावी रहेको छ । न्युरोले अत्याधुनिक १ दशमलव ५ टेस्ला एमआरआई भित्र्याएको छ । यस्तै नयाँ सुविधा सम्पन्न अत्याधुनिक नयाँ भवनमा ५६ शैय्या थप गर्दै अस्पतालमा १५० भन्दा बढी शैय्याबाट अब सेवा दिन थालेको छ ।
केही दिन अगाडि विराटनगरकै नयाँ हस्पिटल “मेट्रो न्युरो अस्पताल”का बारेमा अनर्गल प्रचार भए संगै न्युरो हस्पिटलले सचेतता अपनाउदै यसप्रकारको धारणा सार्वजनिक गरेको हो । उसले सेवाग्राहीहरुलाई नझुक्किन र न्युरो हस्पिटलका बारेमा राम्रो संग वुझेर मात्रै जान आग्रह गरेको छ ।