विराटनगर,१९ मंसिर । कांग्रेस नेता शेखर कोइरालाले एनसेल बिक्रीमा राजनीतिज्ञ, कर्मचारी र व्यापारीको समेत मिलेमत्तो रहेको आरोप लगाएका छन् । उनले अब पाँच वर्षपछि नेपाल सरकारको मातहतमा हुनुपर्ने कम्पनी बिक्रीमा राजनीतिज्ञ र कर्मचारीको संलग्नता नभएको कुरा विश्वास गर्न नसकिने बताए ।
मंगलबार ओखलढुंगा कांग्रेसको सम्मेलनमा नेता कोइरालाले एनसेल प्रकरणलाई कांग्रेसले गम्भीर रुपमा लिएर धारणा बनाउनुपर्ने बताए ।
आजको पाँच वर्षपछि नेपाल सरकारको मातहतमा हुनुपर्ने एनसेल बेचिँदै छ भन्ने केही दिनदेखि जताततै चर्चा भइरहेको छ । यसमा राजनीतिज्ञहरु, कर्मचारी र व्यापारीहरुको मिलेमतो नभई सम्भव नै हुँदैन । त्यसकारण हामीले नेताहरुलाई प्रश्न गरेका छौं कि एनसेल किन बिक्री भयो ? कोइरालाले भने, यस घटनालाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएर धारणा बनाउनुपर्छ । नेता कोइरालाले भ्रष्टाचारलाई निर्मूल पार्न नसके नेपाललाई विकसित मुलुक बनाउन नसकिने बताए ।