विराटनगर,२० असोज ।प्रदेश संरचना खारेजीको माग गर्दै विराटनगरमा प्रदर्शन गरिएको छ। कोशी प्रदेशको राजधानी विराटनगरमा शनिबार (आज) प्रदेश खारेजीको माग राख्दै प्रदर्शन गरिएको हो।
सचेत नागरिक अभियानले मोटरसाइकल र्याली निकाल्दै प्रदेश खारेजको माग उठाएको हो । विराटनगरको कञ्चनबारीबाट सुरु भएको र्याली विराटनगरका विभिन्न भागको परिक्रमा गरेर समापन गरिएको थियो।
प्रदेश संरचनाले मुलुकलाई भार परेको बताउँदै प्रदर्शनकारीहरूले देशमा महँगी र कालोबजारी नियन्त्रण हुनुपर्ने, धार्मिक सहिष्णुता कायम गर्नुपर्ने, सबै नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने, राजनीतिक अपराध बन्द गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्नेलगायत नारा लगाएका थिए।
कार्यक्रममा अधिकांश कांग्रेस र राप्रपाका युवाहरुको सहभागिता रहेको थियो । देशले थाम्न नसक्ने प्रदेश संरचना खारेज गर्नुपर्ने दवावस्वरुप आन्दोलन गरिएको युवा नेता माधव आचार्यले जानकारी दिए ।