विराटनगर,११ असोज / विराटनगर–२ सोमबारमा राष्ट्रिय विभूति योगमायाको अर्धकदको शालिक स्थापना गरिएको छ । शालिकको विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले बिहीबार एक समारोहका बीच अनावरण गरेकी छन् ।
राणा शासनकालमा देशमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार, जातीय भेदभाव, छुवाछुत, नारीमाथि गरिने अन्याय, शोषण, सामन्तवाद, सतिप्रथाजस्ता विकृति र विसंगतिविरुद्ध आवाज उठाउने योगमायाको योगदान महत्वपूर्ण रहेको कार्यबाहक मेयर कार्कीले बताइन । योगमाया नारी जागरणको अभियन्तामात्रै नभएर आदर्शसमेत भएको कार्कीले उल्लेख गरिन ।
कार्कीले योगमायाले परिकल्पना गरेको समाज अझै निर्माण हुन नसकेको भन्दै उनले अझै पनि समाजमा लैंगिक, जातीयलगायतका विभेदहरु कायमै रहेको चर्चा गरिन् । “योगमायाले परिकल्पना गरेको समाज अझै निर्माण हुन सकेको छैन,” कार्कीले भनिन् , “हामी सबै मिलेर उहाँले सोचेको र परिकल्पना गरेको समाज निर्माण गर्नु जरुरी छ ।”
कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेलले योगमायाको अर्धकदको शालिक स्थापना गर्नमा आफुले अधितम प्रयास गरेको र त्यो सफल भएकोमा खुसी व्यक्त गरे । वि.सं. १९९८ असार २१ गते हरिशयनी एकादशीका दिन सामाजिक अभियन्ता योगमायासहित ६८ जना नारी अरुण नदीमा जलसमाधी लिएका थिए ।