विराटनगर,३१ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गठबन्धन दलहरुबीच सहमति कायम गरी चाँडै वर्तमान सरकारले विश्वासको मत लिने बताएका छन् ।
उनले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डल गनगाईंको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै भदौ १ गतेदेखि प्रदेश सभाको बैठक सुरु हुँदा उपयुक्त समयमा वर्तमान सरकारले विश्वास मत लिने प्रष्ट पारे ।
मुख्यमन्त्री थापाले विश्वासको मतपछि गठबन्धन दलहरुबाट थप मन्त्री नियुक्त गरिने जानकारी दिनाका साथै विगतको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट सदनमा रोकिएमा प्रतिपक्षसँग सहमति कायम गरी पास गराउने बताए । उनले यसैगरी प्रदेश निजामती ऐनलाई यसै सदनबाट पास गर्ने पनि उल्लेख गरे ।