विराटनगर,२३ साउन ।
मोरङको बुढीगंगा गाउँपालिकामा तालाबन्दी भएको छ । गाउँपालिकाले २६ जना करार कर्मचारीलाई हटाए संगै आन्दोलनमा उत्रेका कर्मचारी र स्थानियले तालाबन्दी गरेका हुन् ।
पालिकाको मुख्य गेट ,अध्यक्ष जीननारायण थापा मगर र उपाध्यक्ष अमृताकुमार गच्छदारको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् ।
छ वर्ष देखि काम गरिरहेका कर्मचारीलाई पूर्वाग्रह राखेर हटाइएको आन्दोलनरत कर्मचारीको भनाइ छ । गाउँपालिकाको मुख्य गेटमा तालाबन्दी गरेको भएपनि सहायक गेटबाट कर्मचारीलाई भने प्रवेश गर्न दिइएको छ ।
माग पूरा नभएसम्म आन्दोलन गर्ने कर्मचारीहरुले बताएका छन् । यस आन्दोलनमा स्थानियहरुले समेत साथ दिएका छन् ।