विराटनगर,२२ साउन ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशमा डेंगु नियन्त्रण बाहिर जाने स्थिति आए कोभिड अस्पतालहरुलाई प्रयोगमा ल्याइने बताएका छन् । यसका लागि मातहतका निकायलाई निर्देशन दिइसकेको थापाले बताए ।
कोभिड महामारी हटेसंगै कोभिड अस्पताल र केन्द्रहरु बन्द अवस्थामा रहेका छन् । यद्यपी प्रदेश सरकारले यसमा तदारुकता देखाएको छ । सोमबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापाले प्रदेशका जनताले सर्वसुलभरुपमा उपचार गर्ने व्यवस्था मिलाउन लागिपर्ने बताए ।
डेंगु नियन्त्रणका लागि ‘डेंगु बस्ने ठाउँ खोज र नष्ट गर’ अभियानलाई सक्रियताका साथ सुरु गर्न पनि आवश्यक भएको र यसका लागि स्थानिय तहसंग समन्वय भइरहेको मुख्यमन्त्री थापाले बताए । डेंगु सङ्क्रमण कोशी प्रदेशका अधिकांश जिल्लामा फैलिएको छ ।