काठमान्डौं,२९ बैशाख । यस वर्ष बैंक तथा वित्तीय क्षेत्र गत वर्षको तुलनामा सुधारोन्मुख भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० को ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३ खर्ब ५५ अर्ब ८९ करोडले बढेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २ खर्ब ३६ अर्ब २३ करोडले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११ दशमलव शून्य प्रतिशतले बढेको छ ।
२०७९ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ८ दशमलव शून्य प्रतिशत, २५ दशमलव ७ प्रतिशत र ६० दशमलव १ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८ दशमलव ७ प्रतिशत, २८ दशमलव ७ प्रतिशत र ५६ दशमलव १ प्रतिशत रहेको थियो ।
२०७९ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६ दशमलव ३ प्रतिशत रहेको छ । २०७८ चैत मसान्तमा यस्तो निक्षेपको अंश ३८ दशमलव ६ प्रतिशत रहेको थियो । कर्जा प्रवाह समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ दशमलव ५ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कजा १३ दशलव ५ प्रतिशतले बढेको थियो । संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३ दशमलव २ प्रतिशतले बढेको छ । २०७९ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४ दशमलव १ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ दशमलव ७ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ दशमलव ३ प्रतिशत र ३७ दशमलव १ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३ दशमलव ४ प्रतिशतले, विकास बैंकहरुको ४ दशमलव ७ प्रतिशतले र वित्त कम्पनीहरुको १ दशमलव १ प्रतिशतले बढेको छ ।
२०७९ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२ दशमलव २ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७ दशमलव ५ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ ।