विराटनगर,२७ चैत । नयाँ वर्षबाट विराटनगरका सार्वजनिकस्थलमा सूर्तीजन्य पदार्थको सेवनमा रोक लगाइने भएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सार्वजनिकस्थलमा सूर्तीजन्य पदार्थको सेवनमा रोक लगाउने गरी तयारी भइरहेको जानकारी दिए ।
सोमबार एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कोइरालाले नयाँ वर्ष २०८० को सुरुवातसँगै विराटनगरका सार्वजनिकस्थलमा खैनी, गुट्खा, चुरोटलगायतका सूर्तीजन्य पदार्थको सेवनमा कडाइ गर्ने बताए । यसका लागि सवै तयारी पूरा भएको र जनचेतनामूलक सन्देश प्रवाह गरिन लागेको बताए ।
यसो हुदा वैशाख १ गतेबाट महानगरका सार्वजनिक स्थानमा पान, गुट्खा, खैनी, चुरोट खुलेयाम सेवन गर्न पाइने छैन । गुड्खा या सुर्तीजन्य पदार्थ खाएर जथाभावी प्याकिङ गरिएका प्लाष्टिक सडकमा फालिदा र थुक्दा फोहर भएको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक रहेको महानगरको भनाई छ ।
उनले नगरवासीको साथ सहयोगमा सभ्य विराटनगर र सुन्दर महानगर बनाउन लागिरहेको बताए ।